गुगलको सिन्थआईडी एआई डिटेक्टर वेबसाइट कसरी प्रयोग गर्ने?

  • Technology Khabar | ५ कार्तिक २०८३, बिहीबार
गुगलको सिन्थआईडी एआई डिटेक्टर वेबसाइट कसरी प्रयोग गर्ने?

काठमाडौं ।

पछिल्ला वर्षहरूमा तस्बिर, भिडियो र गीतसमेत तयार पार्ने जेनेरेटिभ एआई उपकरणको प्रयोग बढेसँगै इन्टरनेटमा देखिने वा सुनिने सामग्री वास्तविक हो कि होइन भन्ने छुट्याउन कठिन भएको छ।

जेनेरेटिभ एआईका ठूला प्रदायकमध्ये एक गुगलले अब आफूले तयार पारेको सामग्री पहिचान गर्न सहज बनाएको छ। कम्पनीले नयाँ सिन्थआईडी डिटेक्टर सार्वजनिक गरेको छ। यसबाट जोकोहीले तस्बिर, भिडियो वा अडियो फाइल एआईबाट बनाइएको हो कि होइन भनेर जाँच गर्न सक्छन्। तर यसमा केही महत्त्वपूर्ण सीमितता छन्।

गुगलले सन् २०२३ मा सिन्थआईडी सार्वजनिक गरेको थियो। यसले एआईबाट तयार पारिएका सामग्रीमा आँखाले देख्न नसकिने पहिचान चिह्न राख्छ। तर अहिलेसम्म सर्वसाधारणले त्यस्तो चिह्न जाँच गर्न सक्ने सुविधा थिएन।

सन् २०२५ मा कम्पनीले केही अनुसन्धानकर्ता र पत्रकारका लागि सिन्थआईडी डिटेक्टर को सीमित संस्करण उपलब्ध गराएको थियो। अहिले भने यो सबैका लागि उपलब्ध भएको छ।

इन्ग्याजेटका अनुसार एआईबाट सामग्री तयार पारिएको हो कि होइन भनेर पुष्टि गर्न चाहनेहरूका लागि यो राम्रो खबर हुन सक्छ। तर यसले सधैँ सही नतिजा दिन्छ भन्ने छैन।

सिन्थआईडी डिटेक्टरले कसरी काम गर्छ?

सिन्थआईडी सार्वजनिक भएदेखि गुगलको जेमिनी एआई मोडेलले आफूले तयार पार्ने सामग्रीमा डिजिटल वाटरमार्क राख्दै आएको छ। सिन्थआईडी डिटेक्टर ले उक्त वाटरमार्क खोज्छ र फाइलमा यस्तो चिह्न भेटियो वा भेटिएन भन्ने सरल नतिजा दिन्छ।

यो उपकरण प्रयोग गर्न सिन्थआईडी डटकम वेबसाइटमा जानुपर्छ। त्यसपछि जाँच गर्न चाहेको तस्बिर, भिडियो वा अडियो फाइल अपलोड गरेर केही सेकेन्ड पर्खनुपर्छ। त्यसपछि गुगलले नतिजा उपलब्ध गराउँछ।

यो गुगलको अघिल्लो प्रक्रियाभन्दा सहज छ। यसअघि प्रयोगकर्ताले कुनै सामग्री एआईबाट बनाइएको हो कि होइन भनेर जेमिनीलाई नै सोध्न सक्थे। तर जेनेरेटिभ एआईमाथि विश्वास नगर्ने व्यक्तिका लागि जेमिनी को जवाफमा भर पर्न कठिन हुन सक्छ। एआई प्रविधिबाट टाढा रहन चाहने व्यक्तिका लागि पनि यो उपयुक्त विकल्प थिएन।

सिन्थआईडी डिटेक्टरले गुगलका सिन्थआईडी साझेदारहरूले तयार पारेका सामग्रीमा राखिएको वाटरमार्क पनि जाँच गर्न सक्छ। यसअघि यस्तो सुविधा थिएन।

यसको अर्थ अब यो उपकरणले जेमिनी का साथै ओपनएआई,एनभिडिया र काकाओका एआई मोडेलबाट तयार पारिएका सामग्रीसमेत पहिचान गर्न सक्छ। एप्पल पनि सिन्थआईडी कार्यक्रममा सहभागी छ, तर एप्पलले तयार पारेका सामग्री पहिचान गर्ने सुविधा भने विकासकै क्रममा छ।

सिन्थआईडी डिटेक्टर कत्तिको भरपर्दो छ?

सिन्थआईडी डिटेक्टर ले एआई प्रयोग भएको संकेत गर्ने ढाँचा खोज्नुको सट्टा वाटरमार्क मात्र जाँच गर्ने भएकाले गलत रूपमा कुनै सामग्रीलाई एआईबाट तयार पारिएको ठहर गर्ने सम्भावना कम हुन सक्छ। तर यसको सरल प्रक्रियाका आफ्नै सीमितता छन्।

सबैभन्दा स्पष्ट सीमितता भनेको सिन्थआईडी प्रयोग नगर्ने एआई मोडेलबाट तयार पारिएका सामग्री यसले पहिचान गर्न सक्दैन। उदाहरणका लागि, मेटाका एआई उपकरणबाट तयार पारिएका सामग्रीमा सिन्थआईडी वाटरमार्क नभएमा यो उपकरणले ती सामग्री पहिचान गर्न सक्दैन।

यसले अपलोड गरिएको फाइलमा पहिचान चिह्न भेटियो कि भेटिएन भन्ने मात्र जानकारी दिन्छ। सामग्रीको कुन भाग एआईबाट तयार पारिएको हो भन्ने विवरण भने दिँदैन।

गुगलका अनुसार एआईबाट सामग्री तयार पारेपछि त्यसलाई सम्पादन गरिए पनि सिन्थआईडी का डिजिटल चिह्न कायम रहन्छन्। भविष्यमा कसैले ती चिह्न हटाउने उपाय पत्ता लगाउन सक्ने सम्भावनालाई पूर्ण रूपमा नकार्न नसकिए पनि कम्पनीले त्यसलाई रोक्न कदम चालेको देखिन्छ।

आर्स टेक्निकासँगको कुराकानीमा गुगलका एक प्रवक्ताले प्रयोगकर्तालाई दिनमा करिब १० पटक मात्र जाँच गर्न दिने व्यवस्था गरिएको बताएका थिए। यसले प्रयोगकर्ताले उपकरणबाट प्राप्त नतिजाको विश्लेषण गरेर सिन्थआईडी हटाउने तरिका पत्ता लगाउन सक्ने सम्भावना कम गर्ने उद्देश्य राखेको इन्ग्याजेटले उल्लेख गरेको छ।

सिन्थआईडी डिटेक्टर प्रयोग गर्न प्रयोगकर्ताले गुगल, ओपनएआई वा एप्पलमध्ये कुनै एकको खातामा लगइन गरेको हुनुपर्छ।

सिन्थआईडी डिटेक्टर अन्य एआई  डिटेक्टरको तुलनामा कस्तो छ?

सिन्थआईडी डिटेक्टर जेनेरेटिभ एआईबाट तयार पारिएका सामग्री पहिचान गर्ने एक मात्र उपकरण होइन। यसको सीमितता भए पनि यो तुलनात्मक रूपमा भरपर्दो उपकरणमध्ये एक हुन सक्छ।

सिन्थआईडी को साझेदार ओपनएआईले पनि आफ्नै पहिचान उपकरण सञ्चालन गर्छ। यसले एआईबाट तयार पारिएको संकेत दिने मेटाडेटा र सिन्थआईडी वाटरमार्क पहिचान गर्न सक्छ।

मेटाले आफ्ना एआई सामग्रीमा कन्टेन्ट सिल नामको वाटरमार्क राख्छ र त्यसलाई जाँच गर्न वेबमा आधारित उपकरण पनि उपलब्ध गराएको छ। तर सन् २०२६ मा रोयटर्सले प्रकाशित गरेको एक प्रतिवेदनअनुसार उक्त उपकरणले कहिलेकाहीँ मेटाका एआई सामग्री सही रूपमा पहिचान गर्न सकेको थिएन।

एन्थ्रोपिक र माइक्रोसफ्टजस्ता कम्पनीले पनि एआईबाट तयार पारिएका सामग्रीमा वाटरमार्क राख्न थालेका छन्। तर उनीहरूले सर्वसाधारणले प्रयोग गर्न सक्ने त्यस्ता चिह्न पहिचान गर्ने उपकरण भने उपलब्ध गराएका छैनन्।

यी सबै उपकरणको मुख्य कमजोरी भनेको निश्चित प्रकारका एआई पहिचान चिह्न पत्ता लगाउनका लागि मात्र बनाइनु हो। सबै प्रकारका जेनेरेटिभ एआई सामग्री पहिचान गर्न सक्ने भरपर्दो उपकरण अहिलेसम्म उपलब्ध छैन।

धेरै अनुसन्धानकर्ताले आफ्नै एआई पहिचान गर्ने उपकरण विकास गरेका छन्, तर ती सर्वसाधारणका लागि उपलब्ध छैनन्। खुला रूपमा उपलब्ध सामान्य एआई पहिचान उपकरणको नतिजा भने भरपर्दो नहुन सक्छ।

यस्ता उपकरणले मानिसले आफैँ तयार पारेको सामग्रीलाई समेत एआईबाट बनाइएको भनेर गलत रूपमा पहिचान गर्न सक्छन्।

प्रकाशित: ५ कार्तिक २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...