एन्थ्रोपिकले गर्‍यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता

  • Technology Khabar | ३ कार्तिक २०८३, मंगलवार
एन्थ्रोपिकले गर्‍यो क्यानडामा पहिलो डाटा सेन्टरका लागि सम्झौता

काठमाडौं ।

एआई कम्पनी एन्थ्रोपिकले क्यानडाको नोभा स्कोटियास्थित पोइन्ट टपरमा डेटा सेन्टर सञ्चालनका लागि एभरविन्डसँग लिज सम्झौता गरेको छ। यो कम्पनीको क्यानडामा डाटा सेन्टरसम्बन्धी पहिलो सम्झौता हो।

कम्पनीका एक अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार एन्थ्रोपिकले आफ्नो एआई सहायक क्लोड सञ्चालनका लागि आवश्यक डाटा सेन्टर क्षमता उपयोग गर्न एभरविन्डसँग सम्झौता गरेको हो।

यसैबीच, एभरविन्डले नोभा स्कोटियामा डेटा सेन्टर क्याम्पस र वायु ऊर्जा परियोजनामा १० अर्ब क्यानेडियन डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ। कम्पनीले यसलाई प्रान्तको इतिहासकै सबैभन्दा ठूलो निजी लगानी भएको दाबी गरेको छ।

डाटा सेन्टरमा अत्यधिक विद्युत् र पानी खपत हुने तथा स्थानीय पूर्वाधारमा दबाब पर्ने भन्दै आलोचना हुँदै आएको छ। एन्थ्रोपिकका क्यानडाका सार्वजनिक नीति प्रमुख ज्याकोब ग्लिकले भने विद्युत् उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने, पानीका स्रोत सुरक्षित रहने र स्थानीय समुदायले पनि परियोजनाबाट लाभ पाउने सुनिश्चित गरिने बताएका छन्।

रोयटर्सका अनुसार एन्थ्रोपिकले सन् २०२५ मा कम्प्युटिङ र पूर्वाधारमा ७ अर्ब ३३ करोड अमेरिकी डलर खर्च गरेको थियो। यो सन् २०२४ को तुलनामा तीन गुणा बढी हो।

कम्पनी अमेरिकामा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारीमा छ। उक्त आईपीओबाट कम्पनीको मूल्यांकन २ ट्रिलियन अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। तर, न्यूयोर्क सिटीका नियन्त्रक मार्क लेभिनले सुरक्षा र संस्थागत सुशासनसम्बन्धी चिन्ता व्यक्त गर्दै आईपीओ प्रक्रिया स्थगित गर्न आग्रह गरेका छन्।

प्रकाशित: ३ कार्तिक २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार