काठमाडौं ।
भेराइजन र एरिक्सनले भेराइजनको व्यावसायिक नेटवर्क साइटबाट ७ गिगाहर्ज ब्यान्डमा स्ट्याण्डर्ड निर्धारण हुनुअघिको सिक्सजी परीक्षण कल गरेको विश्वमै पहिलो घटना भएको दाबी गरेका छन्।
यो व्यावसायिक सिक्सजी सेवा सुरु गरिएको घोषणा नभई स्ट्याण्डर्ड निर्धारण हुनुअघिको अवधारणाको प्रमाण (प्रुफ अफ कन्सेप्ट) प्रदर्शन हो। आधिकारिक मापदण्डहरू अन्तिम रूप दिनुअघि विकासको चरणमा रहेका प्रारम्भिक सिक्सजी प्रविधिको परीक्षण गर्नु यसको उद्देश्य हो।
एरिक्सनको सिक्सजी परीक्षण उपकरण क्यालिफोर्नियाको कोनकर्डस्थित भेराइजनको व्यावसायिक साइटमा जडान गरिएको थियो। जारी विज्ञप्तिअनुसार यस परीक्षणले सिक्सजी प्रविधिलाई प्रयोगशालाबाट वास्तविक वातावरणमा पुर्याएको छ, जहाँ बाहिरी क्षेत्रमा र बाहिरबाट भवनभित्र प्रवेश गर्ने क्रममा सिग्नलको कार्यक्षमता मूल्याङ्कन गर्न सकिन्छ।
टेलिकम्स डटकमका अनुसार बेस स्टेसन साइटमा रहेको छुट्टै आश्रयस्थलमा जडान गरिएको थियो भने प्रयोगकर्ता उपकरण पाङ्ग्रासहितको एउटा सानो घरमा राखिएको थियो। उक्त घरमा स्थिर बाहिरी र भित्री रेडियो कन्फिगरेसनको परीक्षण गर्न सकिने व्यवस्था छ।
भित्ताको संरचना र झ्यालमा प्रयोग गरिएका सामग्री पनि फरकफरक छन्। यसबाट मानक निर्धारण हुनुअघिको सिक्सजी प्रणाली र ४०० मेगाहर्जको क्यारियर प्रयोग गरी भवनभित्रको कभरेज परीक्षण गर्न सकिएको कम्पनीले जनाएको छ।
परीक्षणमा भवनभित्र सिग्नल प्रवेश गर्ने क्षमताको परीक्षणसँगै बाहिरी क्षेत्रमा कल पनि गरिएको थियो। खुला क्षेत्रमा रहेको सिक्सजी सिग्नल भवनभित्र प्रवेश गर्दा यसको कार्यक्षमता कस्तो हुन्छ भन्ने अध्ययन गर्नु परीक्षणको उद्देश्य थियो।
परीक्षणका क्रममा कभरेज, डाटा प्रसारण क्षमता, विलम्ब, स्थिरता र वास्तविक परिस्थितिमा विभिन्न सुविधाले गर्ने कामको मूल्याङ्कन गरिएको थियो। यसमा प्रत्यक्ष देखिने र अवरोधका कारण प्रत्यक्ष नदेखिने मार्ग, रूखबिरुवा, अन्य अवरोध तथा विभिन्न प्रकारका सिसा र भवन निर्माण सामग्री हुँदै बाहिरबाट भित्र प्रवेश गर्ने सिग्नलको परीक्षण समावेश थियो।
विज्ञप्तिमा भनिएको छ, “समयसँगै सिक्सजीले अझ बढी प्रोग्राम गर्न सकिने, छिटो प्रतिक्रिया दिने र सन्दर्भअनुसार काम गर्ने कनेक्टिभिटी उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसले इमर्सिभ सञ्चार, एआईमा आधारित सेवा, औद्योगिक स्वचालन र रोबोटिक्सका क्षेत्रमा नयाँ अनुभव र प्रयोगका सम्भावना खोल्न सक्छ।”
दुवै कम्पनीले परीक्षणबाट प्राप्त नतिजाको विश्लेषण जारी राख्ने र त्यसबाट प्राप्त जानकारीलाई भविष्यको सिक्सजी अनुसन्धान, परीक्षण तथा सेवा विस्तारको योजना बनाउन प्रयोग गर्ने बताएका छन्।
भेराइजनका प्रविधि विकास प्रमुख तथा वरिष्ठ उपाध्यक्ष यागो टेनोरियोले भने, “भेराइजन सिक्सजी इनोभेसन फोरमको संस्थापक सदस्यका रूपमा एरिक्सनले खुला र विविधतायुक्त प्रविधि प्रणाली निर्माण गर्ने तथा सिक्सजीलाई सैद्धान्तिक अनुसन्धानबाट व्यावहारिक र वास्तविक प्रयोगमा लैजाने हाम्रो साझा अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको छ।”
उनले बाहिरी क्षेत्रमा गरिएको यो सिक्सजी परीक्षणले उद्योगबीचको सहकार्यले विश्वव्यापी मापदण्ड निर्माण गर्न आवश्यक प्राविधिक जानकारी जुटाउन र भविष्यका सिक्सजी नेटवर्क कसरी डिजाइन, विस्तार तथा प्रयोग गर्न सकिन्छ भन्ने बुझ्न सहयोग गर्ने बताए।
एरिक्सनमा भेराइजन ग्राहक एकाइका प्रमुख हानेस एकस्ट्रोमले यो घोषणाले सिक्सजीतर्फको यात्रामा भेराइजनको नेतृत्वलाई थप पुष्टि गरेको बताए। उनका अनुसार यस्ता क्षेत्रगत परीक्षणबाट प्राप्त जानकारीले सिक्सजी प्रविधिलाई वास्तविक प्रयोगमा ल्याउन र भविष्यमा छिटो प्रतिक्रिया दिने, बुद्धिमतामा आधारित तथा इमर्सिभ कनेक्टिभिटीका नयाँ सम्भावना खोल्न मद्दत गर्न सक्छ।
सिक्सजीको मापदण्डलाई अन्तिम रूप दिन अझै समय लाग्ने देखिन्छ। तर जुनिपर रिसर्चले यसै वर्ष सन् २०२९ को अन्त्यसम्ममा सिक्सजी कनेक्सनको सङ्ख्या ४६ लाख पुग्ने अनुमान गरेको थियो। उक्त वृद्धिमा अमेरिका र दक्षिण कोरियाको नेतृत्व रहने अनुमान छ।
अनुसन्धान संस्थाका अनुसार सन् २०३० सम्ममा चीन सबैभन्दा ठूलो सिक्सजी बजार बन्नेछ। त्यसपछि अमेरिका र क्यानडा रहनेछन्। दक्षिण कोरिया भने छैटौँ स्थानमा पुग्ने अनुमान छ। जापान चौथो र बेलायत पाँचौँ स्थानमा रहनेछन्। सन् २०३५ सम्ममा विश्वभर सिक्सजी कनेक्सनको सङ्ख्या २ अर्ब ९० करोड पुग्ने जुनिपर रिसर्चको अनुमान छ।
प्रकाशित: १ कार्तिक २०८३, शनिबार