गुडिरहेको विद्युतीय गाडी चार्ज हुने सडक बनाउँदै होन्डा

  • Technology Khabar | २६ आश्विन २०८३, सोमबार
गुडिरहेको विद्युतीय गाडी चार्ज हुने सडक बनाउँदै होन्डा

काठमाडौं ।

जापानी कम्पनी होन्डाले गुडिरहेको अवस्थामा विद्युतीय गाडी चार्ज गर्न सकिने प्रविधि विकास गरिरहेको छ। कम्पनीले सडकबाटै गाडीमा ऊर्जा पठाउन सकिने वायरलेस चार्जिङ प्रणाली तयार पारिरहेको हो।

यो प्रविधिमा सडकको सतहमा विशेष उपकरण जडान गरिन्छ। विद्युत् चुम्बकीय क्षेत्रको प्रयोग गरेर सडकबाट गाडीमा ऊर्जा पठाइन्छ। यसका लागि गाडी चार्जिङ स्टेसनमा रोकेर राख्नुपर्ने छैन।

होन्डाले यो प्रविधिको वास्तविक अवस्थामा परीक्षण गर्ने योजना बनाएको छ। भविष्यमा सार्वजनिक सडकमा समेत यसको प्रयोग गर्न सकिने सम्भावनाबारे कम्पनीले अध्ययन गरिरहेको छ।

कम्पनीका अनुसार यो प्रविधि सफल भए विद्युतीय गाडीले ब्याट्री चार्ज गर्न बीच बाटोमा रोकिनुपर्दैन। यसबाट एकपटकको यात्रामा गाडीले लामो दूरी तय गर्न सक्नेछ।

यसले विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीको आकार घटाउन पनि मद्दत गर्न सक्छ। गाडी गुडिरहेका बेला पनि सडकबाट ऊर्जा प्राप्त हुने भएकाले लामो दूरी तय गर्न ठूलो क्षमताको ब्याट्री आवश्यक नपर्न सक्ने टेलिग्राफले उल्लेख गरेको छ।

यद्यपि यो प्रणाली व्यापक रूपमा लागू गर्न जटिल हुने र पूर्वाधारमा ठूलो लगानी आवश्यक पर्नेछ। सडकमा विशेष उपकरण जडान गर्नुपर्ने हुन्छ। ती उपकरणलाई कसरी ऊर्जा आपूर्ति गर्ने र नियमित मर्मतसम्भार कसरी गर्ने भन्ने विषयको पनि टुंगो लगाउनुपर्नेछ।

होन्डा यस्तो प्रविधिमा काम गर्ने एक्लो कम्पनी होइन। विभिन्न देशका सवारी निर्माता र प्रविधि कम्पनीहरूले पनि गाडी गुडिरहेको अवस्थामा चार्ज गर्न सकिने प्रणाली विकास गरिरहेका छन्।

यो प्रविधि सफल र आर्थिक रूपमा व्यावहारिक साबित भए भविष्यमा विद्युतीय गाडी चार्ज गर्ने प्रणाली सडक पूर्वाधारकै हिस्सा बन्न सक्नेछ।

प्रकाशित: २६ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...