काठमाडौं ।
ओपनएआईले गत साता बर्खास्त गरेका तीन सुरक्षा अनुसन्धानकर्ता जास्मिन वाङ, टोमेक कोर्बाक र मिकिता बालेस्नीले कम्पनीले लगाएको आरोप अस्वीकार गर्दै खुला पत्र सार्वजनिक गरेका छन्।
कम्पनीको निर्धारित प्रक्रियाबाहिर रहेर संवेदनशील सूचना व्यवस्थापन गरेको भन्ने ओपनएआईको दाबीलाई खण्डन गर्दै उनीहरूले आफ्नो बर्खास्तीले कम्पनीको संस्कृतिमा नकारात्मक असर पार्ने चेतावनी दिएका छन्।
“हाम्रो बर्खास्तीबारे आन्तरिक र बाह्य रूपमा भएका सञ्चारले हाम्रा पूर्वसहकर्मीहरूलाई बोल्न डराउने र गत सातासम्म ओपनएआईमा काम गर्ने अभिन्न हिस्साका रूपमा रहेका गतिविधिबाट पछि हट्ने अवस्थामा पुर्याएकोमा हामी चिन्तित भएका छौँ,” अनुसन्धानकर्ताहरूले बिहीबार ओपनएआईको सुरक्षा तथा संरक्षण समिति, सुरक्षा सल्लाहकार समूह र मिसन सल्लाहकार परिषद्लाई सम्बोधन गर्दै सार्वजनिक गरेको खुला पत्रमा लेखेका छन्।
टेकक्रञ्चका अनुसार तेस्रो पक्षको कृत्रिम बुद्धिमता सुरक्षा संस्थासँग कम्पनीको गोप्य सूचना साझा गरेको आरोप लागेपछि उनीहरूलाई गत साता बर्खास्त गरिएको थियो। ओपनएआईले उनीहरूले “कम्पनीका संवेदनशील सूचना पहुँच गर्ने र व्यवस्थापन गर्ने” क्रममा कम्पनीका नीतिहरू उल्लङ्घन गरेको बताएको थियो।
“कृत्रिम बुद्धिमता सामान्य प्रविधि होइन र ओपनएआई पनि सामान्य कम्पनी होइन,” वाङ, कोर्बाक र बालेस्नीले लेखेका छन्। “सुरक्षामा काम गर्ने हामीले अरूले थाहा पाउनुअघि नै जोखिम देख्छौँ।
ती जोखिमको समाधान कसरी गर्ने भन्ने विषयमा काम गर्न हामी बाह्य विज्ञहरूसँगको निकट सहकार्यमा निर्भर छौँ। डरबिना यस्तो काम गर्न पाउने स्वतन्त्रता र त्यसलाई सम्भव बनाउने स्पष्ट आन्तरिक प्रक्रिया आफैँमा सुरक्षाको महत्त्वपूर्ण संयन्त्र हो।”
उनीहरूले आफ्नो बर्खास्तीले ओपनएआईको संस्कृतिमा व्यापक परिवर्तन आएको संकेत गर्ने बताएका छन्। यसअघि कम्पनीले कर्मचारीहरूलाई “सुरक्षासम्बन्धी चिन्ता उठाउन र खुलेर असहमति व्यक्त गर्न” प्रोत्साहित गर्ने गरेको उनीहरूको भनाइ छ।
तर, एक महिनाअघिसम्म सामान्य मानिने व्यवहार अहिले अचानक बर्खास्तीको कारण बन्न थालेपछि कर्मचारीहरू आफू कुन अवस्थामा छन् भन्ने विषयमा अन्योलमा परेको उनीहरूले बताएका छन्।
“कृत्रिम बुद्धिमताको विकाससँग जोडिएका गम्भीर सुरक्षा चिन्तालाई ध्यानमा राख्दा कर्मचारीहरू डर र अस्पष्ट नियमका कारण सुरक्षा कार्य प्रभावित हुने तथा तेस्रो पक्षको जवाफदेहिता कमजोर हुने वातावरणमा काम गर्न बाध्य हुनु हुँदैन,” उनीहरूले लेखेका छन्। “हामीलाई जस्तै अचानक बर्खास्त गर्ने र त्यसबारे जानकारी दिने कार्यले विगतमा ओपनएआईले महत्त्व दिँदै आएको खुला संस्कृतिलाई कमजोर बनाइरहेको छ।”
खुला पत्रमा तीनै अनुसन्धानकर्ताले ओपनएआईका पछिल्ला मोडेलमा प्रयोग गरिएको कम निगरानी गर्न सकिने संरचनाबारे द इन्फर्मेसनमा प्रकाशित समाचारमा सूचना चुहावट गरेको आरोप पनि अस्वीकार गरेका छन्।
ती संरचनाले कृत्रिम बुद्धिमताले तर्क गर्दा अपनाउने चरणबद्ध प्रक्रियालाई निगरानी गर्न कठिन बनाउने विषय समाचारमा उल्लेख थियो। उनीहरूले आफ्नो कामको जिम्मेवारी र अधिकारक्षेत्रबाहिर रहेर बाह्य पक्षसँग सम्पर्क गरेको आरोपसमेत अस्वीकार गरेका छन्।
ओपनएआईले खुला पत्रबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर, कम्पनीले टेकक्रन्चलाई अनुसन्धानसम्बन्धी एक वरिष्ठ नेताको नाममा रहेको आन्तरिक ज्ञापनपत्र उपलब्ध गराएको छ। उक्त पत्रमा तीनै अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमता सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरिएको छ र उनीहरूलाई प्रतिशोधस्वरूप बर्खास्त गरिएको भन्ने दाबी अस्वीकार गरिएको छ।
प्रकाशित: २४ आश्विन २०८३, शनिबार