काठमाडौं ।
ओपनएआईले संवेदनशील सूचना नीतिको उल्लङ्घन गरेको भन्दै तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको बताएको छ
कृत्रिम बुद्धिमतासम्बन्धी प्रमुख कम्पनी ओपनएआईले संवेदनशील सूचना व्यवस्थापनसम्बन्धी नीतिको उल्लङ्घन गरेको अनुसन्धानबाट पुष्टि भएपछि गत साता आफ्ना तीन अनुसन्धानकर्तालाई बर्खास्त गरेको जनाएको छ। कम्पनीले शुक्रबार एक्समा पोस्ट गर्दै यस्तो जानकारी दिएको हो।
रोयटर्सका अनुसार ओपनएआईको यो भनाइ बर्खास्त गरिएका अनुसन्धानकर्ता जास्मिन वाङ, टोमेक कोर्बाक र मिकिता बालेस्नीले आफ्नो बर्खास्तीको परिस्थितिबारे पत्र सार्वजनिक गरेपछि आएको हो।
उनीहरूले अचानक गरिएको बर्खास्तीले कम्पनीमा बाँकी रहेका कर्मचारीमाझ अनिश्चितता सिर्जना गर्न सक्ने र यसअघि अनुसन्धानकर्ताहरूलाई सुरक्षासम्बन्धी चिन्ता उठाउन अनुमति दिने कम्पनीको संस्कृतिलाई कमजोर बनाउन सक्ने बताएका छन्।
बालेस्नीले उक्त पत्रसँगै एक्समा गरेको पोस्टमा भनेका छन्, “मलाई लाग्छ, ओपनएआई कम्पनीका रूपमा आफ्नो निकट भविष्यको हितभन्दा सुरक्षालाई प्राथमिकता दिएका कारण हामीलाई बर्खास्त गरिएको हो।”
तर ओपनएआईले भने सुरक्षासम्बन्धी चिन्ता व्यक्त गरेको वा त्यसबारे बोलेको कारण उनीहरूलाई बर्खास्त नगरिएको दाबी गरेको छ।
“हाम्रो आन्तरिक अनुसन्धानले उनीहरूले सार्वजनिक गरेको पत्रमा उल्लेख गरिएभन्दा पनि विश्वासको गम्भीर उल्लङ्घन भएको पत्ता लगाएको छ। उनीहरूलाई रोजगारीमा निरन्तरता नदिने निर्णयमा हामी अडिग छौँ,” ओपनएआईले भनेको छ।
“ओपनएआईमा सुरक्षासम्बन्धी विषय र अनुसन्धानबारे हरेक दिन छलफल हुन्छ। यस्ता छलफल प्रायः निकै गहन र आलोचनात्मक हुन्छन्। हामी यस्ता छलफललाई सक्रिय रूपमा प्रोत्साहन गर्छौँ र सही निर्णय लिनका लागि तिनलाई आवश्यक मान्छौँ। सुरक्षासम्बन्धी चिन्ता उठाएकै कारण हामीले कुनै पनि कर्मचारीलाई बर्खास्त गरेका छैनौँ र गर्दैनौँ,” कम्पनीले भनेको छ।
ओपनएआईले कथित नीतिगत उल्लङ्घनका विवरण सार्वजनिक नगरे पनि वाङ, कोर्बाक र बालेस्नीले आफ्नो पत्रमा आफूहरू गत महिना द इन्फर्मेसनमा प्रकाशित ओपनएआईको पछिल्लो कृत्रिम बुद्धिमता मोडेल ‘अस्ट्रा’ को सुरक्षासम्बन्धी चिन्ताबारेको समाचारको स्रोत नभएको बताएका छन्।
ओपनएआई, गुगल डीपमाइन्ड र एन्थ्रोपिकजस्ता प्रमुख कृत्रिम बुद्धिमता कम्पनीका वर्तमान तथा पूर्व अनुसन्धानकर्ताहरूले मानिसको नियन्त्रण गर्न कठिन हुन सक्ने आफैँमा सुधार हुँदै जाने कृत्रिम बुद्धिमता प्रणाली निर्माण गर्दा उत्पन्न हुन सक्ने जोखिमबाट जोगिन कम्पनीहरूले पर्याप्त काम नगरेको चेतावनी दिइरहेका बेला यो घटना सार्वजनिक भएको हो।
जुलाईमा ओपनएआईका कृत्रिम बुद्धिमता एजेन्टहरू परीक्षण क्षेत्रबाट बाहिर निस्किएर कृत्रिम बुद्धिमतासम्बन्धी कम्पनी हगिङ फेसमा ह्याकिङ गरेका थिए।
प्रकाशित: २४ आश्विन २०८३, शनिबार