सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना

  • Technology Khabar | २१ आश्विन २०८३, बुधबार
सार्वजनिक सञ्चार संस्थाको संरचना चुस्त बनाउन आवश्यकः सञ्चारमन्त्री डा. तिमिल्सिना
फाइल तस्बिर

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन संरचनालाई चुस्त, छरितो, व्यावसायिक र परिणाममुखी बनाउन आवश्यक रहेको बताएका छन्।

सार्वजनिक सेवा प्रसारण संस्था, गोरखापत्र संस्थान र राष्ट्रिय समाचार समिति (रासस)को सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रगतिबारे जानकारी लिदै उनले संस्थाको कार्यसम्पादन र कार्यबोझका आधारमा आवश्यक जनशक्ति तथा स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने बताएका हुन्।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले अनावश्यक रूपमा धेरै महाशाखा, शाखा र प्रशासनिक तह थपेर संरचनालाई जटिल बनाउन नहुने बताए। कम तर दक्ष जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह गर्न सकिनेगरी सङ्गठन संरचना निर्धारण गर्नुपर्नेमा उनले जोड दिए।

उनले सार्वजनिक सञ्चार संस्थाहरूको मुख्य जिम्मेवारी समाचार, सूचना तथा कार्यक्रम उत्पादन र प्रसारण भएकाले सोहीअनुसार जनशक्ति तथा दरबन्दी निर्धारण गर्नुपर्ने बताएका छन्।

व्यावसायिक र उत्कृष्ट समाचार कक्ष सञ्चालनका लागि आवश्यक जनशक्ति तथा हाल कार्यरत जनशक्तिको अवस्थासमेत अध्ययन गरी कामको प्रकृति र कार्यबोझका आधारमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो।

सार्वजनिक सञ्चार संस्थाहरूको आगामी कार्यदिशा स्पष्ट गरी व्यावसायिक कार्ययोजनाका आधारमा पद, जनशक्ति, स्रोतसाधन र कार्यालय संरचनाबीच उचित तालमेल कायम गर्नुपर्नेसमेत डा. तिमिल्सिनाले जानकारि दिए। संस्थाको उद्देश्य, कार्यक्षेत्र र जिम्मेवारीअनुसार उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोग हुनेगरी व्यवस्थापन सुधार गर्नुपर्ने उल्लेख गरे।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका क्रममा संस्थाको वर्तमान संरचना, कार्यसम्पादन, जनशक्ति अवस्था र कार्यालय तथा शाखाहरूको आवश्यकताको समग्र मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ थियो। आवश्यकताभन्दा बढी संरचना वा जनशक्ति राख्नुभन्दा कामको प्रकृति र अपेक्षित परिणामलाई आधार बनाएर सङ्गठन संरचना निर्धारण गर्नुपर्ने बताए।

त्यसैगरी, एउटै प्रकृतिका कामका लागि दोहोरो संरचना तथा अनावश्यक प्रशासनिक तह सिर्जना नगरी आवश्यकताअनुसार कार्यालय तथा शाखाको पुनःसंरचना गर्नुपर्ने जानकारि दिए। संस्थाको जिम्मेवारी र कार्यसम्पादनसँग मेल खानेगरी संरचना निर्माण गर्न सके सार्वजनिक सञ्चार संस्थालाई समयअनुकूल, व्यावसायिक र प्रभावकारी बनाउन सकिने उनको भनाइ थियो।

सार्वजनिक सञ्चार संस्थाहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत संस्थागत संरचना, दरबन्दी, जनशक्ति आवश्यकता, कामको विभाजन, कार्यविवरण, अधिकार तथा उत्तरदायित्व र कार्यालय तथा शाखाको आवश्यकताका विषयमा अध्ययन भइरहेको छ।

सञ्चार मन्त्रालयबाट भइरहेको सर्वेक्षणबाट प्राप्त निष्कर्षका आधारमा संस्थाहरूको भावी संरचना र जनशक्ति व्यवस्थापनलाई व्यवस्थित गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र व्यावसायिक बनाउने लक्ष्य राखिएको छ।–रासस

प्रकाशित: २१ आश्विन २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार