यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणी नदीको निगरानी

  • Technology Khabar | १७ आश्विन २०८३, शनिबार
यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणी नदीको निगरानी

काठमाडौं ।

नारायणी नदीमा बाढीको अवस्था नियमित निगरानी गर्न जलमापन केन्द्रबाट जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण र पूर्वसूचना प्रवाह हुँदै आएको छ । नारायणी बेसिन फिल्ड कार्यालयअन्तर्गतका नदी तथा खोलामा रहेका १८ जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढीको अवस्था अनुगमन तथा पूर्वानुमान गर्ने गरिएको छ।

कार्यालयका प्रमुख हाइड्रोलोजिस्ट इन्जिनियर सुमित अधिकारीका अनुसार चितवन, मकवानपुर, धादिङ, रसुवा र नुवाकोटमा रहेका १८ जलमापन केन्द्रबाट नदी तथा खोलाको जलसतहसम्बन्धी तथ्याङ्क सङ्कलन हुँदै आएको छ । ती तथ्याङ्कको विश्लेषण गरी बाढी पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी सेवा प्रवाह गर्ने गरिएको उनले बताए।

नारायणी नदीमा गत आइतबार हालसम्मकै उच्च जलसतह मापन भएको थियो । देवघाटस्थित जलमापन केन्द्रमा ११ दशमलव ९४ मिटर जलसतह मापन गरिएको थियो। जलमापन सुरु गरिएको सन् १९६३ यताकै यो उच्च मापन हो । यसअघि विसं २०८१ असोज १२ गते नारायणीमा ११ दशमलव छ मिटर जलसतह मापन गरिएको थियो।

अधिकारीका अनुसार यसपटक नारायणीमा आएको उच्च बहावमा कालीगण्डकीलगायत सहायक नदीमा आएको उल्लेखनीय बहावको समेत प्रभाव परेको थियो । नारायणीका सहायक नदी त्रिशूली, कालीगण्डकी, मर्स्याङ्दी र सेती गण्डकीलगायतमा समेत जलमापन हुँदै आएको उनले जानकारी दिए। उनले भने, “नारायणीमा आएको ठूलो बहावमा विशेषगरी कालीगण्डकीमा आएको उल्लेखनीय बहावको प्रभाव परेको हो।”

इन्जिनियर अधिकारीका अनुसार जलसतह मापनका लागि मुख्यतः दुई प्रकारका प्रणाली प्रयोगमा छन् । परम्परागत रूपमा नदी तथा खोलामा स्केल गेज (जलमापन क्षेत्रमा नदी, ताल वा तरल पदार्थको सतह कति छ भनेर नाप्नका लागि जडान गरिएको स्केल अङ्कित फलाम/काठको पाटा) राखेर गेज रिडर (नदी, जलाधार, वा जलमापन केन्द्रमा जडान गरिएको मापन रेखा हेरेर पानीको सतह वा बहावको दैनिक/नियमित नाप लिने प्राविधिक) ले प्रत्यक्ष रूपमा जलसतह पढ्ने गरिन्छ भने अर्को स्वचालित जलमापन केन्द्रमा जडान गरिएको सेन्सरमार्फत मापन गरिन्छ।

इन्जिनियर अधिकारीले भने, “एउटा खोलामा स्केल गेजमार्फत र अर्को सन् २०१२ पछि जलमापन केन्द्रमा जडान गरिएको स्वचालित केन्द्रको सेन्सरमार्फत मापन गरिन्छ।”

स्वचालित केन्द्रमा जडान गरिएको सेन्सरले हरेक १० मिनेटमा जलसतहसम्बन्धी तथ्याङ्क केन्द्रमा पठाउने गरेको उनले जानकारी दिए। एनसेल वा नेपाल टेलिकमको सिममार्फत अनलाइन प्राप्त हुने तथ्याङ्कका आधारमा नदी तथा खोलाको जलसतहको अवस्था नियमित रूपमा अनुगमन गर्न सहज भएको उनको भनाइ छ।

हस्तचालित (म्यानुअल) प्रणालीमा गेज रिडरले प्रत्यक्ष रूपमा जलसतह हेरेर तथ्याङ्क सङ्कलन गर्नुपर्ने भए पनि स्वचालित प्रणालीमा सेन्सरले आफैँ तथ्याङ्क पठाउने भएकाले बाढीको अवस्था तत्काल थाहा पाउन सहज भएको उनले बताए।

स्वचालित जलमापन केन्द्रबाट प्राप्त तथ्याङ्कका आधारमा बाढी पूर्वानुमान तथा पूर्वसूचना प्रवाह गर्ने गरिएको छ । प्राप्त तथ्याङ्कका आधारमा एसएमएसलगायत विभिन्न माध्यमबाट सम्बन्धित निकाय तथा सर्वसाधारणलाई बाढीसम्बन्धी सूचना प्रवाह गरिँदै आएको उनले जानकारी दिए। रासस

प्रकाशित: १७ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार