काठमाडौं ।
अब टेस्ला, वेमो र जुक्सजस्ता स्वचालित सवारीसाधन प्रविधि कम्पनीले रोबोट्याक्सीमा समस्या आएमा आपत्कालीन सेवाका कर्मचारीलाई स्थानीयस्तरमै सहयोग उपलब्ध गराउनुपर्ने भएको छ।
नयाँ क्यालिफोर्निया कानुनअनुसार रोबोट्याक्सीले प्रहरी वा दमकलको काम ३० मिनेटभन्दा बढी समय अवरुद्ध गरेमा कम्पनीले जरिवाना तिर्नुपर्ने हुन सक्छ।
गभर्नर गेभिन न्युसमले हस्ताक्षर गरेर कानुनको रूप दिएको सिनेट बिल १२४६ ले ती सवारीमा समस्या आएमा वा आपत्कालीन सेवाका कर्मचारीको काममा अवरोध पुगेमा सुरक्षा र प्रतिक्रिया समय सुधार गर्न नयाँ नियमहरू लागू गरेको छ। कम्पनीले यी नियम पालना नगरेमा जवाफदेही बनाउने व्यवस्था पनि कानुनमा गरिएको छ।
क्यालिफोर्नियामा रोबोट्याक्सी बिग्रिएर यातायात अवरुद्ध भएका, अपराधस्थलमा पुगेका वा आपत्कालीन सेवाका कर्मचारीको काममा अवरोध गरेका केही चर्चित घटनापछि यो कानुन ल्याइएको हो।
टेकक्रञ्चका अनुसार यीमध्ये अधिकांश घटना अमेरिकाको सबैभन्दा ठूलो रोबोट्याक्सी सञ्चालक वेमोका थिए। वेमोको अमेरिकाभर व्यावसायिक सेवामा करिब ४ हजार स्वचालित सवारीसाधन छन्।
तीमध्ये करिब १ हजार २०० सवारीसाधन सान फ्रान्सिस्को बे एरियामा छन्। टेकक्रन्चले यसै वर्ष गरेको अनुसन्धानले वेमोका सवारीमा समस्या आउँदा आपत्कालीन सेवाका कर्मचारीले ती सवारीसाधन आफैं चलाउनुपरेका धेरै घटना पहिचान गरेको थियो।
ती घटनापछि राज्य र संघीय सांसदहरूले रोबोट्याक्सीसम्बन्धी नियम अझ कडा बनाउन माग गरेका थिए। विशेषगरी आपत्कालीन सेवाका कर्मचारी वरपर रोबोट्याक्सीले कसरी व्यवहार गर्छन् भन्ने विषयमा कडाइ गर्न माग गरिएको थियो। राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले समेत एभी विकासकर्तालाई पत्र पठाएर यस समस्याको समाधान खोज्न भनेको थियो।
क्यालिफोर्नियाको नयाँ कानुनले कम्तीमा राज्यभित्र यी चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको छ।
“क्यालिफोर्नियाले स्वचालित सवारीसाधनलाई स्वीकार गरेको छ, तर सार्वजनिक सुरक्षाको मूल्यमा हामी प्रविधिको विकास स्वीकार गर्न सक्दैनौं। कुनै स्वचालित सवारीसाधन दुर्घटनामा पर्दा, बिग्रिँदा, आपत्कालीन अवस्थामा सडक अवरुद्ध गर्दा वा कानुन कार्यान्वयन गर्ने निकाय तथा आपत्कालीन सेवाका कर्मचारीको काममा अवरोध गर्दा स्पष्ट जवाफदेहिता हुनुपर्छ,” विधेयक प्रस्तुत गरेका राज्य सिनेटर डेभ कोर्टेसेले भने।
कानुनअनुसार एभी विकासकर्ताले अमेरिकामा रहेका र अमेरिकी चालक अनुमतिपत्र भएका रिमोट चालकलाई मात्र काममा लगाउन पाउनेछन्। स्वचालित सवारीसाधनमा समस्या आउँदा कम्पनीहरूले रिमोट अपरेसन कसरी प्रयोग गर्छन् भन्ने विषयमा उठेका चिन्तालाई सम्बोधन गर्न यो व्यवस्था गरिएको हो।
“रिमोट अपरेसन” शब्दलाई निकै फराकिलो रूपमा व्याख्या गरिएको छ र एभी कम्पनीहरूले प्रयोग गर्ने यसको विधिबारे अझै धेरै जानकारी सार्वजनिक भएको छैन। तर कानुनमा प्रयोग गरिएको “रिमोट चालक” शब्द भने अझ स्पष्ट छ।
यसले टाढाबाट सवारीसाधनलाई प्रत्यक्ष रूपमा सञ्चालन वा चलाउने मानिसलाई जनाउँछ। टेस्लाले आफ्ना रोबोट्याक्सीमा प्रत्यक्ष नियन्त्रण लिन सक्ने रिमोट अपरेटर रहेको सार्वजनिक रूपमा बताएको एक मात्र कम्पनी हो।
वेमोजस्ता अन्य कम्पनीले भने रिमोट सहायताका विभिन्न माध्यम प्रयोग गर्ने बताएका छन्। यस्तो अवस्थामा स्वचालित ड्राइभिङ प्रणालीले नै सवारीसाधन नियन्त्रण गरिरहेको हुन्छ र आवश्यक परे मानव कर्मचारीले निर्देशन दिन वा सफ्टवेयर आदेश पठाउन सक्छन्।
वेमोसँग फिलिपिन्ससहित विभिन्न देशमा रिमोट सहायता कर्मचारीको विश्वव्यापी सञ्जाल छ। कम्पनीले एरिजोना र मिशिगनमा कमान्ड सेन्टर सञ्चालन गर्छ। जुक्सका रिमोट अपरेसन टोली अमेरिकामै रहेको कम्पनीले जनाएको छ।
कानुनले एभी कम्पनीलाई प्रणालीगत रूपमा समस्या आउँदा सवारीसाधनको स्थान र अवस्थाबारे सहर, नगर तथा अन्य स्थानीय निकायलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरेको छ।
कम्पनीले एभी दुर्घटना वा अवरोधमा सहयोग गर्न सक्ने “स्थानीय घटना प्राविधिक” पनि उपलब्ध गराउनुपर्नेछ। आपत्कालीन अवस्थामा एभीले ३० मिनेटभन्दा बढी समय आपत्कालीन सेवाका कर्मचारीको काममा अवरोध गरेमा कम्पनीलाई जरिवाना गर्न सकिनेछ।
वेमो र जुक्सलगायत कम्पनीले कानुन पालना गर्ने बताएका छन्।
वेमोका प्रवक्ताले कम्पनीको इमेलमार्फत दिएको विज्ञप्तिमा भने, “स्वचालित सवारीसाधन सञ्चालकले अझै व्यावहारिक रूपमा क्यालिफोर्नियाका बासिन्दालाई सेवा दिन सक्ने व्यवस्था सुनिश्चित गर्ने गरी विधेयकमा गरिएका संशोधनप्रति हामी आभारी छौं। क्यालिफोर्नियाका सडकलाई सुरक्षित बनाउन र आफ्नो सेवा निरन्तर सुधार गर्न वेमो प्रतिबद्ध छ।”
यो कानुन सन् २०२८ को जुलाईदेखि लागू हुनेछ। राज्यमा स्वचालित सवारीसाधनको नियमन गर्ने क्यालिफोर्निया डिपार्टमेन्ट अफ मोटर भेइकल्सले नयाँ कानुनका केही पक्ष, आवश्यक प्रतिक्रिया समयलगायत विषयमा निर्देशिका बनाउनेछ।
प्रकाशित: १७ आश्विन २०८३, शनिबार