एनभिडियाले सार्वजनिक गर्‍यो हगिङ फेसमा भएको ह्याक रोक्न सक्ने एआई सुरक्षा सफ्टवेयर

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
एनभिडियाले सार्वजनिक गर्‍यो हगिङ फेसमा भएको ह्याक रोक्न सक्ने एआई सुरक्षा सफ्टवेयर

काठमाडौं ।

एनभिडियाले सोमबार एआई एजेन्टका लागि सुरक्षा सफ्टवेयर उपकरणहरूको सेट सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यी उपकरण प्रयोग गरिएको भए केही महिनाअघि ओपनएआईका अनियन्त्रित एजेन्टले एआई कोडिङ हब हगिङ फेसमा गरेको ह्याक रोक्न सकिन्थ्यो। एनभिडियाले हगिङ फेसलाई १३ अर्ब डलरमा खरिद गर्ने सम्झौता गरेको थियो।

रोयटर्सका अनुसार ओपनएआई र एन्थ्रोपिकजस्ता अमेरिकाका प्रमुख दुई एआई प्रयोगशालाले जटिल काम गर्न सक्ने एआई प्रणाली अर्थात् एजेन्टले व्यावसायिक तथा सरकारी प्रणालीमा प्रवेश गरेका धेरै घटनाबारे अनुसन्धान गरिरहेका बेला एनभिडियाले यस्तो कदम चालेको हो।

विश्वकै सबैभन्दा ठूलो कम्पनीका प्रमुख तथा एआई विकासमा प्रयोग हुने अधिकांश चिपका निर्माता एनभिडियाका सीईओ जेन्सेन ह्वाङले व्यापक एआई सुरक्षा नियमको माग अस्वीकार गर्दै आएका छन्। उनले अनियन्त्रित भएका एआई एजेन्टको समस्यालाई गाडीलाई थप सुरक्षित बनाउने जस्तै इन्जिनियरिङ समस्याका रूपमा समाधान गर्नुपर्ने बताउँदै आएका छन्।

सोमबार सार्वजनिक गरिएको एउटा उपकरण ‘ओपनशेल’ले एनभिडियाका केन्द्रीय प्रोसेसर चिपमा रहेका हार्डवेयर सुविधाको प्रयोग गरेर एआई एजेन्टलाई सीमित राख्छ। एनभिडियाले यो प्रणाली आफ्ना चिपबाहेक आर्म होल्डिङ्स र इन्टेलका केन्द्रीय प्रोसेसरमा पनि काम गर्ने बनाउन ती कम्पनीसँग सहकार्य गरिरहेको जनाएको छ।

एनभिडियाले एन्थ्रोपिकसहित दर्जनौँ साझेदारसँग मिलेर यी उपकरण सार्वजनिक गरेको हो।

एनभिडियाका इन्टरप्राइज कम्प्युटिङका उपाध्यक्ष तथा महाप्रबन्धक जस्टिन बोइटानोले यी उपकरण प्रयोग गरिएको भए हगिङ फेसमा भएको आक्रमण रोक्न सकिने बताएका छन्।

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...