काठमाडौं ।
रोबोटिक्स एसोसियशन अफ नेपाल(आरएएन) ले आयोजना गरेको ‘यन्त्र बिजनेस कप: सफ्टबट्स एजेन्टिक एआई ह्याकाथन’ को उपाधि टिम इन्नोभिजनले जितेको छ।
इन्नोभिजनको ‘विपद् साथी’ परियोजना विजेता बन्दा टिम जीरोएक्सनलको ‘प्रवाह’ उपविजेता बनेको छ। पीडब्लूएङ्ग (पावर विथ माइन्ड) को ‘क्राइसिस पाइलट’ ले मेन्टर्स च्वाइस अवार्ड पाएको छ।
यन्त्र एक्स २०२६ – द इन्टेलिजेन्स एण्ड आन्ट्रप्रेनरशिप फेस्टिभल अन्तर्गत सेप्टेम्बर ११ र १२ (भदौ २६ र २७) मा काठमाडौंको सनवे कलेजमा भएको दुईदिने ह्याकाथनमा विद्यार्थी टोलीहरूले ‘डिजस्टर रेस्पोन्स’ विषयमा एजेन्टिक एआई समाधान विकास गरेका थिए।
भोटेकोशी–त्रिशूली करिडोरमा आएको बाढीबाट रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती हुँदै नुवाकोटसम्मका समुदाय प्रभावित भएको पृष्ठभूमिमा ह्याकाथनको विषय तय गरिएको थियो।
ह्याकाथनको पहिलो दिन विपद् प्रतिकार्यसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिले आफ्ना अनुभव प्रस्तुत गरेका थिए। एनडीआरआरएमएका संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले रसुवा बाढीमा सरकारको काम र प्रतिकार्यबारे जानकारी दिएका थिए भने ईसीमोडको ग्लेसियर्स-टू-ओसन (जीटूओ) कार्यक्रमका वरिष्ठ परियोजना संयोजक डा. राजेश थापाले डाउनस्ट्रिम विपद्हरूको हिमानी उत्पत्तिबारे प्रस्तुति दिएका थिए।
दोस्रो दिन टोलीहरूले मेन्टरको मार्गदर्शनमा तयार पारेका प्रोटोटाइपलाई अन्तिम रूप दिएर जज प्यानलसमक्ष प्रस्तुति दिएका थिए। जज प्यानलमा नेक्स्ट एआईका प्रमुख कार्यकारी अधिकृत क्षितिज रिमाल, टेकबे इन्टरनेशनलका प्रबन्ध निर्देशक वैभव खड्का र इन्टिग्रेटेड आईसीटी प्रालिका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत विरोध रिजाल थिए।
विजेता इन्नोभिजनको ‘विपद् साथी’ले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ। राजमार्गका क्यामेराबाट २४ घण्टा सूचना लिएर दुर्घटना वा घटना स्वतः पहिचान गर्ने र सम्बन्धित निकायलाई तत्काल सतर्क गराउने यस प्रणालीले एआईमार्फत घटना पत्ता लगाउनुका साथै एम्बुलेन्स र प्रहरीजस्ता आवश्यक स्रोत सिफारिस गर्ने क्षमता राख्छ।
उपविजेता जीरोएक्सनलको ‘प्रवाह’ले ३० हजार रुपैयाँ पुरस्कार पाएको छ। वर्षा र नदी अनुगमन स्टेसनका तथ्यांकमा आधारित भएर जोखिम विश्लेषण तथा पूर्वानुमान गर्ने यस प्रणालीमा एआई एजेन्टले जिल्लागत जानकारी दिने तर्क तहको काम गर्छ।
त्यस्तै पीडब्लूृएमको ‘क्राइसिस पाइलट’ ले मेन्टर्स च्वाइस अवार्ड पाएको छ। यसले नागरिकलाई आपतकालीन घटनाको प्रतिवेदन दर्ता गर्न दिने, ह्यांगरबाट स्वचालित ड्रोन उडाएर प्रभावित व्यक्तिको पहिचान तथा ट्र्याकिङ गर्ने र सार्वजनिक पारदर्शिता फिड तथा सरकारी अद्यावधिक जोड्ने सुविधा समेटेको छ।
‘यन्त्र बिजनेस कप: सफ्टबट्स एजेन्टिक एआई ह्याकाथन’ आरएएन ले यन्त्र एक्स २०२६ अन्तर्गत सनवे कलेज, काठमाडौंको सहकार्यमा आयोजना गरेको हो।
प्रकाशित: १२ आश्विन २०८३, सोमबार