अक्टोबर १ मा स्पेसएक्सको रकेटमार्फत आफ्नो पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट प्रक्षेपण गर्दै भारत

  • Technology Khabar | १२ आश्विन २०८३, सोमबार
अक्टोबर १ मा स्पेसएक्सको रकेटमार्फत आफ्नो पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट प्रक्षेपण गर्दै भारत

काठमाडौं ।

भारतको टेकमीटुस्पेसले अक्टोबर १ मा स्पेसएक्सको रकेटमार्फत आफ्नो पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ।

कम्पनीले यसलाई भारतको पहिलो कक्षीय कम्प्युटिङ स्याटेलाइट भनेको छ। यस स्याटेलाइटले पृथ्वीमा कच्चा तथ्यांक पठाउनुको सट्टा अन्तरिक्षमै तथ्यांक प्रशोधन गर्ने लक्ष्य राखेको छ।

रोयटर्सले उल्लेख गरे अनुसार कम्पनीको एमओआई-१ए नामक स्याटेलाइट ५० किलोग्रामभन्दा कम तौलको छ। यसमा एनभिडिया ओरिन एनएक्स एज कम्प्युटिङ प्रोसेसर जडान गरिएको छ। यो स्याटेलाइट स्पेसएक्सको ट्रान्सपोर्टर-१८ राइडसेयर मिसनमार्फत प्रक्षेपण गर्ने तालिका छ।

टेकमीटु स्पेसले सोमबार उक्त मिसनका लागि भौगोलिक सूचना प्रणालीसम्बन्धी कम्पनी र शैक्षिक संस्थासहित २३ ग्राहकसँग सम्झौता गरेको जनाएको छ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रोनक सामन्त्रेका अनुसार यसका व्यावसायिक ग्राहकहरू कृषि, खानी, आपूर्ति शृंखला व्यवस्थापन र बीमा क्षेत्रका छन्। अमेरिकामा रहेको अन्तरिक्ष तथ्यांक विश्लेषण कम्पनी लिटिल प्लेस ल्याब्स पनि यसको ग्राहक हो।

सामन्त्रेका अनुसार ग्राहकले आफ्ना कृत्रिम बुद्धिमत्तामा आधारित मोडेलहरू स्याटेलाइटमा अपलोड गर्न सक्नेछन्। स्याटेलाइटले तोकिएको क्षेत्रमाथिबाट गुज्रँदा तथ्यांक प्रशोधन गरेर त्यसको विश्लेषण मात्र पृथ्वीमा पठाउनेछ। यसले सम्पूर्ण मूल तथ्यांक पृथ्वीमा पठाउनुपर्ने आवश्यकता हटाउनेछ।

सामन्त्रेले भने, “हाम्रो पहिलो पुस्ताका स्याटेलाइटबाट लाभ लिन सक्ने ग्राहक भनेका कच्चा तथ्यांक डाउनलोड गर्न र त्यसलाई प्रशोधन गर्न खर्च गरिरहेका कम्पनी हुन्। अन्तरिक्षमै तथ्यांक प्रशोधन गर्दा डाउनलोडमा लाग्ने खर्च घट्छ र यसले अन्तरिक्षमा प्रशोधनका लागि तिर्नुपर्ने अतिरिक्त शुल्कको भार कम गर्छ।”

यो स्याटेलाइट परम्परागत डाटा सेन्टर नभई उपग्रहभित्रै तथ्यांक प्रशोधन गर्ने एज कम्प्युटिङ प्रणाली हो। सामन्त्रेका अनुसार यसले करिब १५० वाट विद्युत् शक्ति प्रयोग गर्छ। यसको तुलनामा स्पेसएक्स र स्टारक्लाउडजस्ता कम्पनीहरूले पृथ्वीमा रहेका डाटा सेन्टरमा प्रयोग हुने अझ उन्नत एनभिडिया चिप प्रयोग गर्ने योजना बनाएका छन्।

टेकमीटु स्पेसको दीर्घकालीन योजना धेरै ग्राहकलाई सेवा दिन सक्ने ठूला र एकआपसमा जोडिएका स्याटेलाइट निर्माण गर्नु हो।

कम्पनीले सन् २०२४ को अन्त्यतिर गरेको प्रविधि परीक्षण मिसनले स्याटेलाइटमा एप्लिकेसन अपलोड गर्ने, अन्तरिक्षमै कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी तथ्यांक विश्लेषण गर्ने र नतिजा डाउनलोड गर्ने क्षमता प्रमाणित गरेको थियो। त्यसपछिको एमऔआई-१ उपग्रह भने प्रक्षेपण यानको तेस्रो चरणमा भएको खराबीका कारण नष्ट भएको थियो।

टेकमीटु स्पेसले महत्त्वपूर्ण तथ्यांकका लागि अन्तरिक्षमा कोल्ड स्टोरेज सेवा पनि उपलब्ध गराउने लक्ष्य राखेको छ। यसका लागि कम्पनीले वित्तीय सेवा र रक्षा क्षेत्रका ग्राहकलाई लक्षित गरेको छ। उनीहरूलाई पृथ्वीमा रहेका क्लाउड सेवा प्रदायकबाहेक तथ्यांक सुरक्षित राख्न थप अर्को स्थान उपलब्ध गराउने कम्पनीको योजना छ।

कम्पनीका अनुसार यसले भारतमै स्याटेलाइटका अधिकांश प्रणालीको डिजाइन र उत्पादन गर्छ। तर चिप, सौर्य सेल र प्रणोदन प्रणाली भने बाहिरबाट खरिद गर्छ। सन् २०२७ देखि ठूला स्याटेलाइट निर्माण गर्ने कम्पनीको योजना छ। यसबाट कम्प्युटिङ क्षमता बढाउने र लागत घटाउने लक्ष्य राखिएको छ।

प्रकाशित: १२ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार