काठमाडौं ।
शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो नयाँ फ्ल्यागशिप फोन ‘शाओमी १८ प्रो’ (Xiaomi 18 Pro) सार्वजनिक गर्ने घोषणा गरेको छ।
कम्पनीले च्याटिङ्ग एप भाइबरमा रहेको आफ्नो प्रोमोसनल ग्रुपमार्फत एउटा नयाँ टिजर सार्वजनिक गर्दै नेपालमा यो फोन आउने कुराको पुष्टि गरेको छ।
‘प्रो’ सिरिज हालै मात्र चीनमा सार्वजनिक गरिएको थियो र नेपालमा आउने मोडलको डिजाइन उस्तै देखिन्छ; यसका विशेषताहरू (स्पेसिफिकेसन) पनि उस्तै हुने अपेक्षा गरिएको छ।
शाओमीको नेपाल स्थित आयातकर्ता कम्पनीले आफ्ना बिक्रेताहरुको भाइबर ग्रुपमा पठाएको जानकारीअनुसार नेपालसहित विश्वव्यापी बजारमा शाओमी १८ प्रो आउने कुराको पुष्टि गरेको छ।
टिजर पोस्टरमा फोनलाई नीलो रङको विकल्पमा देखाइएको छ। यद्यपि, कम्पनीले यसको सार्वजनिक हुने मिति अझै घोषणा गरेको छैन।
कम्पनीले केवल ‘शाओमी १८ प्रो’ को मात्र उल्लेख गरेको छ; यसमा शाओमी १८ प्रो सिरिज वा ‘प्रो म्याक्स’ मोडलको कुनै चर्चा छैन। तसर्थ, नेपाली बजारमा शाओमी १८ प्रो म्याक्स आउने निश्चित छैन।
कम्पनीले आगामी दिनहरूमा फोनको लन्च मिति र उपलब्धतासम्बन्धी विवरणहरू सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
बजारमा ‘शाओमी १८ प्रो’ लन्च भएसँगै प्रयोगकर्ताहरूले पछाडिको भागमा ‘सेकेन्डरी डिस्प्ले’ (दोस्रो स्क्रिन) भएको स्मार्टफोनको अनुभव लिन पाउनेछन्। यो सुविधा गत वर्ष ‘शाओमी १७ प्रो’ मोडलमा उपलब्ध थियो तर विश्व बजारमा ल्याइएको थिएन।
शाओमी १८ प्रो को चिनियाँ मोडलमा पछाडिको प्यानलमा ‘सेकेन्डरी ओएलईडी डिस्प्ले’ राखिएको छ। यो स्क्रिनले ‘एप कार्ड’ र ‘कस्टम इमेज’ जस्ता सुविधाहरूलाई समर्थन गर्छ। यदि नेपालमा आउने मोडलमा पनि यो सुविधा समावेश गरियो भने, यसले ग्राहकहरूलाई नौलो अनुभव प्रदान गर्नेछ।
शाओमी १८ प्रोका विशेषताहरू
शाओमी १८ प्रो हालै चीनमा लन्च गरिएको फ्ल्यागशिप फोन हो। त्यसैले, यसको नेपाली र विश्वव्यापी मोडलहरूमा पनि चिनियाँ भेरियन्टजस्तै विशेषताहरू हुने सम्भावना उच्च छ। किनकी कम्पनीले नेपालमा आउने शाओमी १८ प्रो स्न्यापड्रागन ड्यूल ८ इलाइट चिपसेट हुने जानकारी दिएको छ।
चीनमा, ‘शाओमी १८ प्रो’ मा ६.४ इन्चको १२० हर्ज एलटीपीओ ओइलईडी डिस्प्ले, स्न्यापड्रागन ८ इलाइट जेन ६ (Snapdragon 8 Elite Gen 6) चिपसेट र लाईकाको ट्रिपल रियर क्यामरा सेटअप दिइएको छ। यस फोनमा २०० एमपीको मुख्य क्यामरा, २०० एमपीको पेरिस्कोप टेलिफोटो क्यामरा र ५० एमपीको अल्ट्रा-वाइड क्यामरा समावेश छ।
शाओमी १८ प्रो मा ७,००० एमएएचको ब्याट्री राखिएको छ र यसले १०० वाटको वायर्ड चार्जिङलाई समर्थन गर्छ। कम्पनीले विश्वव्यापी बजारका लागि यही ब्याट्री क्षमता कायम राख्छ वा यसमा परिवर्तन गर्छ भन्ने कुरा हेर्न बाँकी नै छ र यससम्बन्धी विवरणहरू भविष्यका अपडेटहरूमा आउनेछन्।
प्रकाशित: १२ आश्विन २०८३, सोमबार