काठमाडौं ।
सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा किरण तिमसिना नियुक्त भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८२ को दफा १३ बमोजिम केन्द्रको रिक्त कार्यकारी निर्देशक पद खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न २०८३/०५/१९ गते सार्वजनिक रूपमा दरखास्त आह्वान गरिएको थियो।
विज्ञप्तिअनुसार दरखास्तबाट स्वीकृत भएका आवेदकहरूमध्ये नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३/०५/१८ को निर्णयअनुसार गठित छनोट समितिले कार्यकारी निर्देशक छनोटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम प्रारम्भिक छानबिन, शैक्षिक योग्यता, अनुभव, तालिम, व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन तथा कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्तालगायतका प्रक्रिया पूरा गरेको थियो।
यसअघि सरकारले केन्द्रको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि २७ जनाको आवेदन परेकोमा छनोट समितिले ६ जनालाई सर्टलिस्ट गरेको थियो।
उक्त सर्टलिस्टमा नारायणप्रसाद घिमिरे, ध्रुव ज्ञवाली, डा. भोजराज घिमिरे, ई. निराजन पन्थी, किरण तिमिल्सिना र डा. श्रीधर मरासिनी परेका थिए।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने गरी स्थापना गरिएको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमा सीईओ नियुक्तिका लागि भदौ १९ गते विज्ञापन प्रकाशित गरिएको थियो।
केन्द्रले सरकारी निकायका लागि आवश्यक सफ्टवेयर विकास, स्तरोन्नति तथा मर्मतसम्भारको काम गर्नेछ । सीईओ नियुक्त भएपछि केन्द्रको कामलाई थप व्यवस्थित रूपमा अघि बढाउने जिम्मेवारी समेत रहनेछ ।
समितिले २०८३ को दफा १५ बमोजिम योग्यताक्रमका आधारमा नेपाल सरकारसमक्ष नियुक्तिका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज २ गतेको निर्णयअनुसार सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा झापाको दमक–१० निवासी किरण तिमसिनालाई नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
युवा उद्यमी तिमसिना ‘अर्बन गर्ल’ (Urban Girl) का सह-संस्थापक हुन्। उनी फोर्ब्सको ‘अन्डर ३०’ एशिया सूचीमा समेत परेका थिए।
प्रकाशित: ९ आश्विन २०८३, शुक्रबार