बर्दिया डिजिटल मेलामार्फत बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
बर्दिया डिजिटल मेलामार्फत बर्दियालाई डिजिटल पर्यटनको नक्सामा स्थापित गर्ने पहल

काठमाडौं ।

ठाकुरबाबा नगरपालिकाको पहलमा आयोजित बर्दिया डिजिटल मेला  ‘कथादेखि यात्रासम्म’ कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय पर्यटन उद्यमी, समुदाय तथा व्यवसायलाई डिजिटल प्लेटफर्म, सामग्री सिर्जनाकर्ता र नयाँ दर्शकसँग जोड्दै बर्दियाको पर्यटन अर्थतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

द एसिया फाउन्डेसन नेपालको सहयोगमा सञ्चालित यस पहलले स्थानीय होमस्टे, साना व्यवसाय, प्रकृति गाइड तथा पर्यटन उद्यमीहरूको डिजिटल क्षमता अभिवृद्धि गर्नुका साथै बर्दियाका विविध पर्यटन अनुभव तथा सेवाको पहुँच र दृश्यता नयाँ बजारसम्म विस्तार गर्ने लक्ष्य लिएका छ।

बर्दियामा बर्दिया राष्ट्रिय निकुञ्ज, समृद्ध थारू संस्कृति तथा कर्णाली नदी लगायत विशिष्ट पर्यटन गन्तव्यहरू रहेका छन्। तर, यात्रुहरूले गन्तव्य खोज्ने, मूल्याङ्कन गर्ने र भ्रमणका लागि छनोट गर्ने क्रममा डिजिटल प्लेटफर्मको प्रभाव बढ्दै गए पनि यीमध्ये धेरै अनुभवहरू अझै डिजिटल माध्यममा पर्याप्त रूपमा प्रस्तुत हुन सकेका छैनन्।

बर्दिया डिजिटल मेलाले यही अन्तरलाई सम्बोधन गर्दै सामग्री सिर्जनाकर्ता, पर्यटन उद्यमी, सरकारी निकायका प्रतिनिधि, पर्यटन संघ संस्था, विद्यार्थी तथा युवालाई एकै ठाउँमा ल्याएर बर्दियाका मौलिक कथा र अनुभवलाई प्रत्यक्ष रूपमा अनुभव गर्ने, सिर्जना गर्ने तथा व्यापक रूपमा प्रसार गर्ने अवसर प्रदान गर्नेछ।

विश्व पर्यटन सञ्जालका संस्थापक सदस्य तथा नेपाल पर्यटन विभागका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले भने, ‘बर्दियासँग कथा छन्, मानिस छन् र अनुभवहरू छन्। अब आवश्यक कुरा भनेको यी कथालाई स्थानीय संवादबाट विश्वव्यापी यात्रासम्म पुर्याउनु हो। बर्दिया डिजिटल मेला त्यस दिशातर्फको एउटा कदम हो—कथालाई यात्रामा र यात्रालाई अवसरमा रूपान्तरण गर्ने प्रयास रहेको छ।’

नेपाल पर्यटन विभागका कार्यवाहक निर्देशक सुनील शर्माले स्थानीय प्रतिभा तथा समुदायलाई महत्वपूर्ण रूपमा उजागर गर्दै यस क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्न यस्तो पहल उपयोगी हुने बताए।

उनले भने, ‘बर्दिया डिजिटल मेलाबारे मेरो पहिलो धारणा के हो भने, यस प्रकारको पहलले स्थानीय प्रतिभा र समुदायलाई व्यापक रूपमा चिनाउने अवसर प्रदान गर्नुका साथै यस क्षेत्रको पर्यटनमा सकारात्मक प्रभाव पार्न सक्छ। अझ महत्वपूर्ण कुरा यसले नीति निर्माता तथा सरोकारवालालाई बर्दियालाई पर्यटन गन्तव्यका रूपमा डिजिटल माध्यम र सामाजिक सञ्जालमा प्रवद्र्धन गर्न अझ प्रभावकारी र केन्द्रित रणनीति विकास गर्न प्रोत्साहित गर्न सक्छ।’

द एसिया फाउन्डेसन नेपालका डिजिटल ट्रासफ्मेसन एण्ड डाटा गर्भरनेन्सका निर्देशक प्रणय स्थापितले भने, ‘संसारले नारा पत्याउँदैन। संसारले पत्याउँछ भिडियो, राष्ट्रिय निकुञ्जहरू, समृद्ध थारु संस्कृति र खानाहरू।

बर्दियाको चुनौती कहिल्यै पनि विश्वस्तरीय पर्यटकीय सम्पदाको अभाव थिएन, यहाँ सधैं अभाव भनेको ‘डिजिटल पुल’ को थियो र आज हामी त्यही पुल निर्माण गर्दैछौ‌।त्यसैले यो बर्दिया डिजिटल मेलालाई आज ’बर्दिया डिजिटल मेला ‘कथादेखि यात्रासम्म’ मा भेला भएका छौ‌।’

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार