काठमाडौं ।
महाकाली नगरपालिकामा मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोकथाम तथा प्रारम्भिक पहिचानमा केन्द्रित ‘मनोविकास अभियान’ सुरु भएको छ।
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत साइकडेस्क फाउन्डेसन र महाकाली नगरपालिकाको सहकार्यमा अभियान सुरु गरिएको हो।
महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसरको अध्यक्षता तथा दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलको प्रमुख आतिथ्यमा अभियान शुभारम्भ गरिएको थियो। कार्यक्रममा स्थानीय तह तथा जिल्ला तहका प्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाको सहभागिता थियो।
वर्ल्डलिंककी सीएसआर निर्देशक अनुपा भण्डारी जालानका अनुसार अभियानअन्तर्गत व्यक्ति, परिवार, विद्यालय, समुदाय र स्थानीय सरकारलाई जोडेर नगरपालिकाको मानसिक स्वास्थ्य नीति तथा प्रणाली सुदृढ गर्ने काम गरिनेछ।
वर्ल्डलिंक सीएसआरले विगत पाँच वर्षदेखि विभिन्न जिल्लामा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साइकडेस्क फाउन्डेसनसँगको तीन वर्षे साझेदारीमा धनगढी, विराटनगर र पोखरामा आत्महत्या रोकथामसम्बन्धी सचेतना तथा ‘साइड वाक टक’ कार्यक्रम सञ्चालन गरिएको थियो।
एक वर्षअघि महाकाली, बैतडीको मेलौली र काठमाडौंको कागेश्वरीमा गरिएको मानसिक स्वास्थ्यसम्बन्धी अध्ययनबाट प्राप्त आवश्यकता र सुझावका आधारमा यस वर्षको अभियानको अवधारणा तयार गरिएको वल्र्डलिंकले जनाएको छ।
कम्पनीका अनुसार दश महिनाको परियोजना अवधिमा सरकारी विद्यालयका विद्यार्थी तथा शिक्षकमार्फत मनोसामाजिक सहयोग प्रणाली सुदृढ गर्ने, महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रसूति तथा प्रसूतिपछिको मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने र विद्यार्थीलाई इन्टरनेट जोखिम तथा त्यसबाट हुन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी जोखिमबारे जानकारी दिने कार्यक्रम छन्।
त्यस्तै, नगरपालिकाको मानसिक स्वास्थ्य नीति निर्माण तथा अनुमोदन प्रक्रियामा सहजीकरण गर्ने योजना रहेको छ। परियोजनाबाट करिब ३ हजार जना प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ।
साइकडेस्क फाउन्डेसनका संस्थापक तथा वरिष्ठ मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाका अनुसार नगरपालिकाको मानसिक स्वास्थ्य नीतिबारे पहिलो चरणको छलफल यसअघि नै सम्पन्न भएको थियो। अभियानअन्तर्गत दोस्रो चरणको छलफल पनि सम्पन्न भएको उनले जानकारी दिए।
ठगुन्नाले स्थानीय आवश्यकता र सन्दर्भअनुसार मानसिक स्वास्थ्य नीति निर्माणका लागि छलफलबाट प्राप्त सुझाव उपयोगी हुने बताए।
प्रकाशित: ५ आश्विन २०८३, सोमबार