व्यापारवार्ता र एआई उत्साहले एसियाली बजारमा हरियाली

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
व्यापारवार्ता र एआई उत्साहले एसियाली बजारमा हरियाली
च्याटजीपीटीमार्फत् बनाइएको सांकेतिक तस्बिर।

काठमाडौं ।

कृत्रिम बौद्धिकता (एआई) प्रविधिप्रतिको विश्वव्यापी बढ्दो माग तथा अमेरिका र चीनबीच भएको व्यापार तथा एआईसम्बन्धी वार्ताबाट सकारात्मक सङ्केत प्राप्त भएपछि सोमबार अधिकांश एसियाली शेयर बजारमा वृद्धि भएको छ।

गत साता विश्व शेयर बजारहरू मिश्रित अवस्थामा बन्द भएका थिए। मुद्रास्फीति नियन्त्रणका लागि विभिन्न केन्द्रीय बैङ्कहरूले मौद्रिक नीति कडा बनाउने क्रम जारी राखेका छन्। यसै क्रममा अमेरिकी फेडरल रिजर्भले गत बुधबार ब्याजदर वृद्धि गरेको थियो।

अमेरिका र चीनका आर्थिक अधिकारीहरूले आइतबार व्यापार र एआईसम्बन्धी विषयमा वार्ता गरेका थिए। उक्त वार्ता बिहीबार वासिङ्टनमा हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर भेटअघि भएको हो।

अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्टका अनुसार दुवै पक्षले एआईसम्बन्धी विषयमा नियमित संवादका लागि ‘अमेरिका–चीन एआई संवाद’ नामक संयन्त्र स्थापना गर्ने विषयमा छलफल गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले वार्तालाई स्पष्ट, गहन र रचनात्मक भएको बताएका छन्।

सोमबार कारोबार सुरु भएको करिब एक घण्टापछि हङकङको प्रमुख शेयर सूचकाङ्क करिब शून्य दशमलव पाँच प्रतिशतले बढेको थियो। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित सूचकाङ्क एक दशमलव पाँच प्रतिशतले उकालो लागेको छ भने साङ्घाई शेयर बजार शून्य दशमलव पाँच प्रतिशतले बढेको छ। सार्वजनिक बिदाका कारण जापानको टोकियो शेयर बजार बन्द रहेको थियो भने अष्ट्रेलियाको सिड्नी बजारमा सामान्य गिरावट देखिएको थियो।

क्विन्टेक्स इन्टेलका विश्लेषक स्टेफन इनेसले ट्रम्प–सी भेटवार्ताका लागि व्यापार, लगानी र कृत्रिम बौद्धिकता विषयमा आधार तयार भइसकेको उल्लेख गर्दै बजारले ठूलो सम्झौताभन्दा पनि दुवै मुलुकले व्यापारिक तनाव थप नबढाउने सङ्केतको प्रतीक्षा गरिरहेको बताएका छन्।

यसैबीच अमेरिका–इरान द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च रहेकाले विश्वभरका केन्द्रीय बैङ्कमाथि मुद्रास्फीति नियन्त्रणको दबाब बढेको छ।

जापानको केन्द्रीय बैङ्कले गत शुक्रबार ब्याजदरलाई तीन दशकयताकै उच्च स्तरमा पु¥याएको थियो। यद्यपि, आगामी दिनमा ब्याजदर वृद्धिको गति अपेक्षाभन्दा सुस्त हुन सक्ने अनुमानका कारण येन अमेरिकी डलरको तुलनामा कमजोर बनेको छ। यसअघि यसै महिनामा युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडरल रिजर्भले पनि मौद्रिक नीति थप कडा बनाएका थिए।

सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको छ। साउदी अरेबियाले पूर्व–पश्चिम पाइपलाइन अवरुद्ध भएपछि प्रभावित भएको कच्चा तेल आपूर्तिको करिब आधा हिस्सा केही दिनभित्र पुनः सञ्चालन गर्ने अपेक्षापछि मूल्यमा दबाब परेको हो।

यद्यपि ब्रेन्ट र डब्लुटिआई दुवै प्रमुख कच्चा तेलको मूल्य अझै पनि प्रतिव्यारेल करिब १०० अमेरिकी डलरको हाराहारीमा रहेको छ, जुन अमेरिका–इरान युद्धअघि रहेको स्तरभन्दा उल्लेखनीय रूपमा उच्च हो।–रासस

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...