ओपनएआई प्रमुख साम अल्टम्यानले अर्को साता राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिने

  • Technology Khabar | ५ आश्विन २०८३, सोमबार
ओपनएआई प्रमुख साम अल्टम्यानले अर्को साता राष्ट्रसंघीय सुरक्षा परिषद्लाई जानकारी दिने

काठमाडौं ।

ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले अर्को साता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई जानकारी दिने भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभाका लागि विश्वका नेताहरू न्युयोर्कमा भेला हुने क्रममा सुरक्षा परिषद्को बैठकमा अल्टम्यानले जानकारी दिने ओपनएआई का प्रवक्ताले शुक्रबार बताएका छन्।

१५ सदस्यीय सुरक्षा परिषद्को बैठक आगामी बुधबार कृत्रिम बुद्धिमता र अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा बस्दैछ। केही साताअघि एआई क्षेत्रका विभिन्न नेताहरूले तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्रविधिको विकासलाई समन्वयात्मक रूपमा केही समय रोक्न आह्वान गरेका थिए। उनीहरूले एआईले चाँडै आफैंमा सुधार गर्न सक्ने र मानव नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिएका थिए।

‘साम अल्टम्यानले अर्को साता राष्ट्रसंघीय सुरक्षा परिषद्को खुला बैठकमा व्यक्तिगत रूपमा जानकारी दिनेछन्,’ ओपनएआईका प्रवक्ताले बताए।

रोयटर्सका अनुसार अल्टम्यानको भनाइ अन्तर्राष्ट्रिय समन्वय र साझा सुरक्षा मापदण्डको आवश्यकताका साथै विश्वभरका मानिसले एआईबाट लाभ लिन सकून् भनेर ओपनएआईले गरिरहेका काममा केन्द्रित हुने अपेक्षा गरिएको प्रवक्ताले बताए।

कूटनीतिज्ञहरूले एन्थ्रोपिकबाट पनि बैठकमा उच्च तहको सहभागिता हुने अपेक्षा गरिएको बताएका छन्। तर यसको पुष्टि हुन बाँकी रहेको उनीहरूको भनाइ छ। एन्थ्रोपिकले टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएन।

सेप्टेम्बर महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष रहेको फ्रान्सले बैठक बोलाएको हो। बैठकको अध्यक्षता फ्रान्सका यूरोप तथा विदेश मामिलामन्त्री जाँ-नोएल बारोले गर्नेछन्।

फ्रान्सले सुरक्षा परिषद्का सदस्यहरूलाई पठाएको र रोयटर्सले हेरेको बैठकसम्बन्धी अवधारणा पत्रमा एआई प्रविधिको दुरुपयोगको जोखिमलाई ध्यानमा राख्दै सुरक्षित र जिम्मेवार ढंगले कृत्रिम बुद्धिमताको विकासलाई प्रवर्द्धन गर्न तत्काल कदम चाल्नुपर्ने उल्लेख छ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सन् २०२३ मा पहिलोपटक कृत्रिम बुद्धिमताका जोखिमबारे बैठक गरेको थियो। त्यतिबेला चीनले एआई प्रविधि ‘नियन्त्रणबाहिर गएको घोडा’ बन्न नहुने बताएको थियो भने अमेरिकाले मानिसलाई नियन्त्रण वा दमन गर्न एआईको प्रयोग हुन नहुने चेतावनी दिएको थियो।

हालको एआईको तीव्र विकास सुरु हुनुअघि नै अल्टम्यानले यसको जोखिमबारे चेतावनी दिँदै आएका थिए। उनले सन् २०१५ मा ‘मेशिन इन्टेलिजेन्स, पार्ट १’ शीर्षकको लेखमा मानवभन्दा बढी क्षमता भएको मेसिन बुद्धिमताको विकास मानव अस्तित्वका लागि सम्भवतः सबैभन्दा ठूलो खतरा रहेको बताएका थिए।

फ्रान्सले आफ्नो अवधारणा पत्रमा पछिल्लो एआई मोडलको नियन्त्रण गुम्ने जोखिम तथा अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा प्रभाव पार्ने गतिविधि विकास, सहज बनाउन वा सञ्चालन गर्न ती मोडलको प्रयोगबाट उत्पन्न जोखिमबारे सहभागीहरूले आफ्नो विश्लेषण प्रस्तुत गर्न सकून् भन्ने बैठकको उद्देश्य रहेको जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार