काठमाडौं ।
मानवजस्तै देखिने रोबोटको ‘दिमाग’मा सन् २०२७ को मध्यसम्ममा ठूलो सुधार आउन सक्ने तर घरमा यस्ता रोबोटको प्रयोग हुन कम्तीमा आठ वर्ष लाग्न सक्ने चिनियाँ एम्बोडिड एआई कम्पनी स्पिरिट एआईले जनाएको छ। मोडल विकासका क्रममा आवश्यक तथ्यांकको अभाव मुख्य चुनौती बनेको कम्पनीको भनाइ छ।
चिनियाँ ह्युमनोइड रोबोटले तीव्र गतिमा दौडने, नाच्ने र आदेश दिँदा ब्याकफ्लिप गर्नेजस्ता काम गर्न सक्ने गरी हार्डवेयरमा उल्लेखनीय प्रगति गरे पनि चिनियाँ रोबोट कम्पनीहरूले अहिले रोबोटको बुद्धिमत्ता र वास्तविक संसारमा आर्थिक उत्पादकत्व निर्धारण गर्ने सफ्टवेयरमा बढी ध्यान दिन थालेका छन्।
‘सम्पूर्ण रोबोटिक्स प्रणालीमा दिमाग नै सबैभन्दा कमजोर कडी हो,’ स्पिरिट एआईका सहसंस्थापक तथा प्रमुख वैज्ञानिक गाओ याङले बिहीबार भने।
गाओका अनुसार ओपनएआई को जीपीटी-३.०मोडलले च्याटजीपीटी का लागि गरेको ठूलो प्रगतिजस्तै उद्योगमा अर्को महत्वपूर्ण सफलता सन् २०२७ को मध्यतिर आउन सक्छ। स्पिरिट एआईका रोबोटले व्यवस्थित बैठक कोठाको वातावरणमा गरिने सामान्य काममा ९० प्रतिशत सफलता दर हासिल गरेका छन्।
‘आगामी एकदेखि दुई वर्ष औद्योगिक प्रयोगको सुरुवाती समय हुनेछ। अबको दुई वर्षमा हामीले रोबोटलाई व्यावसायिक सेवा क्षेत्रमा सरल काम गरिरहेको देख्नेछौँ। घरभित्र प्रयोग गर्नु भने अझ कठिन हुनेछ,’ रोबोटिक्सका विषयमा छिङहुवा विश्वविद्यालयमा सहायक प्राध्यापकसमेत रहेका गाओले भने।
रोयटर्सका अनुसार स्पिरिट एआईका आफ्नै मोज१ नामका पांग्रायुक्त ह्युम्यनोइड रोबोट अहिले ब्याट्री निर्माता सीएटीएल र खुद्रा कम्पनी जेडी डटकमका उत्पादन लाइनमा प्रयोग भइरहेका छन्। जेडी डटकम स्पिरिट एआईको लगानीकर्तासमेत हो।
करिब ३०० कर्मचारी रहेको यस स्टार्टअपले सन् २०२४ मा स्थापना भएदेखि ६७ करोड डलरभन्दा बढी लगानी जुटाइसकेको छ। यसका कारण यो चीनका तीव्र गतिमा लगानी जुटाउने एम्बोडिड इन्टेलिजेन्स कम्पनीमध्ये एक बनेको छ।
कम्पनीको हालको मूल्यांकन २० अर्ब युआन अर्थात् करिब २.९ अर्ब डलर रहेको छ। गाओले कम्पनीको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी योजनाबारे भने टिप्पणी गर्न अस्वीकार गरे।
‘प्रगति अत्यन्त तीव्र छ। स्पिरिट एआई स्थापना हुँदा रोबोटले पानी खन्याउने वा कपडा पट्याउनेजस्तो एउटा मात्र छुट्टै काम राम्रोसँग गर्न सक्थ्यो,’ गाओले भने।
‘आज रोबोटले ठूलो क्षेत्रभित्र काम गर्न र लगातार जटिल कार्यहरू पूरा गर्न सक्छन्।’
तर बोतलको बिर्को खोल्नेजस्ता सूक्ष्म गतिविधि पूर्ण रूपमा गर्न र पहिले नदेखिएका काम सम्हाल्न अझै कठिनाइ रहेको उनले बताए। धेरै प्रतिस्पर्धीले मोडल प्रशिक्षणको लागत घटाउन भर्चुअल सिमुलेसन प्रयोग गरे पनि स्पिरिट एआईले रोबोटको दिमाग प्रशिक्षणका लागि मुख्य रूपमा वास्तविक संसारबाट संकलन गरिएको तथ्यांक प्रयोग गर्छ।
‘सिमुलेटरले कडा वस्तुहरूलाई राम्रोसँग सम्हाल्छन्। तर लचिलो र आकार परिवर्तन हुने विद्युतीय तारजस्ता वस्तु अझै समस्या हुन्,’ गाओले भने।
कम्पनीले देशभर करिब १ हजार जना ठेकेदारलाई घर तथा उत्पादन लाइनमा पहिरनयोग्य तथ्यांक संकलन उपकरण प्रयोग गर्न नियुक्त गरेको छ।
बेइजिङस्थित कम्पनीको कार्यालयमा रोबोटको तथ्यांक प्रशिक्षण केन्द्र पनि छ। रोयटर्सका प्रतिनिधिले त्यहाँ सेन्सर जडान गरिएका दर्जनौँ युवालाई फ्रिज खोल्ने, सेफको ताला खोल्ने र चक्कुले तरकारी काट्नेजस्ता गतिविधि पटक–पटक दोहोर्याइरहेको देखेका थिए। यी गतिविधिबाट ह्युम्यनोइड रोबोटलाई प्रशिक्षण दिन तथ्यांक संकलन गरिन्छ।
चीनका अन्य रोबोट प्रशिक्षण केन्द्रमा आवश्यक सटीकतासहितको एउटा ‘स्वच्छ’ गतिविधि प्राप्त गर्न कामदारले एउटै गतिविधि ५० पटकभन्दा बढी दोहोर्याउनुपर्ने हुन सक्छ।
तर स्पिरिट एआईले विभिन्न प्रकारका गतिविधि समेटिएको ‘डर्टी डाटा’ प्रयोग गर्दा आफ्ना मोडलले अझ छिटो सुधार गर्ने पत्ता लगाएको गाओले बताए।
प्रकाशित: ३ आश्विन २०८३, शनिबार