वेमोले सिंगापुरमा २०२८ देखि चालकविहीन रोबोट्याक्सी सेवा शुरु गर्ने

  • Technology Khabar | ४ आश्विन २०८३, आईतवार
वेमोले सिंगापुरमा २०२८ देखि चालकविहीन रोबोट्याक्सी सेवा शुरु गर्ने

काठमाडौं ।

अल्फाबेटको स्वायत्त सवारीसाधन इकाइ वेमोले सन् २०२८ देखि सिंगापुरमा स्वायत्त विद्युतीय राइड–हेलिङ सेवा सञ्चालन गर्ने भएको छ। यो सेवा वेमोको दक्षिणपूर्वी एसियामा पहिलो प्रवेशका रुपमा हुनेछ।

वेमोका अनुसार प्रारम्भिक चरणमा ज्यागुअर आई–पेसका पूर्ण ईभी सवारीसाधन सिंगापुर ल्याइनेछन्। यी सवारीसाधन आगामी केही महिनामा सिंगापुर पुग्नेछन्।

रोयटर्सका अनुसार सन् २०२७ मा वेमोका प्रशिक्षित स्वायत्त सवारी विशेषज्ञले स्थानीय सडकको बनोट तथा ट्राफिक अवस्थासँग प्रणालीलाई अभ्यस्त गराउन सुरुमा म्यानुअल ड्राइभिङ गर्नेछन्। साथै, सिंगापुरको मनसुनी मौसममा सवारीसाधनको स्वायत्त प्रणालीले कसरी काम गर्छ भन्ने विषयमा पनि परीक्षण गरिनेछ।

वेमोले सार्वजनिक रूपमा सेवा सञ्चालन गर्ने लक्ष्य सन् २०२८ का लागि राखेको छ। यसका लागि कम्पनीले सिंगापुरको यातायात मन्त्रालय र ल्यान्ड ट्रान्सपोर्ट अथोरिटीसँग सहकार्य गरिरहेको जनाएको छ।

सिंगापुरका यातायातमन्त्री जेफ्री सिओले वेमोको प्रवेशले देशमा नयाँ यातायात विकल्प थपिने बताएका छन्। उनका अनुसार वेमोले सिंगापुरमा विश्वस्तरीय प्रविधि र सञ्चालनसम्बन्धी अनुभव ल्याउनेछ।

वेमोले यही साता जापानमा पनि चालकविहीन व्यावसायिक ट्याक्सी सेवा सुरु गर्ने योजना सार्वजनिक गरेको थियो। कम्पनीले सन् २०२७ मा टोकियोमा जापानकै पहिलो पूर्ण स्वायत्त व्यावसायिक ट्याक्सी सेवा सुरु गर्ने लक्ष्य राखेको छ।

फेब्रुअरीमा १६ अर्ब अमेरिकी डलरको लगानी उठाउँदा वेमोको मूल्यांकन १२६ अर्ब डलर पुगेको थियो। कम्पनीले अमेजनको जोक्स र टेस्लासँग स्वायत्त सवारीसाधन तथा रोबोट्याक्सी बजारमा प्रतिस्पर्धा गर्दै आफ्नो रोबोट्याक्सी फ्लीट विस्तार गरिरहेको छ।

प्रकाशित: ४ आश्विन २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार