काठमाडौं ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित चलचित्रको संरक्षण, प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
विश्वप्रसिद्ध ‘एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अस्कर अवार्ड)को ९९औं संस्करणका लागि नेपालको प्रतिनिधित्व गरिरहेको चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ को टोलीसँग आज मन्त्रालयमा भएको भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले कला क्षेत्रको जगेर्ना गर्नु राज्यको दायित्व भएको बताएका हुन्।
सञ्चारमन्त्री तिमिल्सिनाले समग्र चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनका लागि मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउन सरकार तयार रहेको स्पष्ट पारे। उनले नेपाली कला, संस्कृति र राष्ट्रिय महत्त्वका विषयवस्तुलाई चलचित्रमार्फत अन्तरराष्ट्रियस्तरमा पुर्याउने प्रयासलाई सरकारले प्रोत्साहन गर्ने बताए।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न ३ करोड ५० लाख अनुदान रकम विनियोजन गरेको छ। उक्त बजेट कार्यान्वयन गर्न मन्त्रालयले ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणको लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ निर्माणको काम अन्तिम चरणमा पुर्याएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।
उक्त कार्यक्रममार्फत सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक, मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ छ।
सञ्चारमन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको बताउए। अहिले संसद्मा विचाराधीन रहेको चलचित्र विधेयकलाई बलियो र कार्यान्वयनयोग्य बनाउने गरी काम भइरहेको उनले जानकारी दिए।–रासस
प्रकाशित: ३१ भाद्र २०८३, बुधबार