काठमाडौं ।
प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ।
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरुलाई जानकारी गराएको हो।
उक्त बैठकमा प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागिएको जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।
बैठकमा समितिका सदस्यहरुले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए।
प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्ट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। रासस
प्रकाशित: ३० भाद्र २०८३, मंगलवार