काठमाडौं ।
ताइवानले गत साता भएको एक प्रमुख व्यापारिक प्रदर्शनीमा आफ्नो चिप कूटनीतिक क्षमता प्रस्तुत गर्दै आफूलाई एआई क्रान्तिका लागि लोकतान्त्रिक र भरपर्दो आपूर्तिकर्ताका रूपमा प्रस्तुत गरेको छ।
साथै, सेमिकन्डक्टर क्षेत्रमा आफ्नो क्षमताबाट प्राप्त हुने लाभ समान विचारधारा भएका साझेदार मुलुकसँग बाँड्न तयार रहेको संकेत पनि ताइवानले दिएको छ।
रोयटर्सका अनुसार एआईमा प्रयोग हुने चिप निर्माण गर्ने टीएसएमसीजस्ता कम्पनी रहेको ताइवानले लामो समयदेखि आफ्नो प्रविधिगत क्षमतालाई अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयोग गर्दै आएको छ।
तर, बेइजिङले ताइवान चीनकै एउटा प्रान्त मात्र भएको दाबी गर्दै यस्तो प्रयास रोक्ने गरेको छ। कूटनीतिक रूपमा अलग रहेको ताइवानले आफ्नो प्रविधिगत क्षमतालाई अन्तर्राष्ट्रिय समर्थन बढाउन प्रयोग गर्दै आएको हो।
तर ताइवानमाथि आफ्नो सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय समर्थक तथा हतियार आपूर्तिकर्ता अमेरिकामा थप चिप उत्पादन सार्न दबाब पनि छ। टीएसएमसीले अमेरिकाको एरिजोना राज्यमा कारखाना निर्माणका लागि २६५ अर्ब डलर लगानी गरिरहेको समयमा यस्तो दबाब आएको हो।
राष्ट्रपति लाइ चिङ-तेले सेमीकन ताइवान व्यापारिक प्रदर्शनीमा एकै दिन असामान्य रूपमा दुई छुट्टाछुट्टै कार्यक्रममा सम्बोधन गरे। उनले ताइवानी कम्पनीहरू विश्वभर विस्तार हुँदै गएको र यसबाट ‘लचिलोपनमार्फत साझा समृद्धि’ सिर्जना हुने बताए। उनले ताइवानको चिप क्षेत्रमा रहेको शक्ति लोकतन्त्र र कानुनी शासनमा आधारित रहेको पनि बताए।
प्रदर्शनीमा अमेरिकी प्याभिलियनको उद्घाटन गर्दै अर्थमन्त्री कुङ मिङ-सिनले ताइवानी कम्पनीहरूले अमेरिकामा थप २० अर्ब डलर लगानी गर्ने योजना बनाएको बताए।
चिप्समा लाग्ने शुल्क
ताइवानले यसै वर्षको सुरुवातमा अमेरिकासँग एउटा सम्झौता गरेको थियो। त्यसअनुसार निर्यात शुल्क घटाउने बदलामा ताइवानी कम्पनीहरूले अमेरिकामा लगानी बढाउने सहमति गरेका थिए। तर, अझै पनि यसबारे अनिश्चितता कायम छ।
अमेरिकी वाणिज्यमन्त्री हावर्ड लटनिकले गत साता सीएनबीसीसँगको कुराकानीमा अमेरिकामा चिप उत्पादन नगर्ने कम्पनीका लागि सेमिकन्डक्टरमा शुल्क लगाइने बताएका थिए।
तर, ताइवानसँगको शुल्कसम्बन्धी सम्झौताको निगरानी गर्ने अमेरिकी वाणिज्य विभागका अधिकारी बिल फ्राउनहोफरले सेमीकनमा सकारात्मक धारणा व्यक्त गरे।
उनले ताइवान र अमेरिकाबीचको ‘असाधारण साझेदारी’ प्रभावकारी रूपमा अघि बढिरहेको बताए। दुवै पक्षले यो साझेदारी सफल बनाउन स्वार्थ र चासो रहेको उनको भनाइ थियो।
ताइवानी कम्पनीहरूले पनि आफ्नो उत्पादन ताइवानबाहिर विस्तार गर्नुपर्ने आवश्यकता स्वीकार गरेका छन्।
एनभिडियाका लागि सबैभन्दा ठूलो एआई सर्भर निर्माता फक्सकनका अध्यक्ष यङ लिउले कम्पनीहरूले अब ‘ताइवानमा मात्र होइन, ताइवानसँग मिलेर उत्पादन गर्ने र बजार रहेको देशमै उत्पादन गर्ने’ विषयमा सोच्नुपर्ने बताए।
प्यानल छलफलका क्रममा लिउको भनाइमा प्रतिक्रिया दिँदै विश्वकै सबैभन्दा ठूलो चिप प्याकेजिङ तथा परीक्षण सेवा प्रदायक एएसईका प्रमुख सञ्चालन अधिकृत तियन वुले आफू सहमत रहेको बताए।
‘राजनीतिक रूपमा यो सही कुरा हो,’ वुले भने, ‘र इमानदारीपूर्वक भन्नुपर्दा, यसो नगर्ने विकल्प हामीसँग छैन।’
ईयू पनि लगानी चाहन्छ
ताइवानले युरोपेली संघसँगको सम्बन्ध पनि थप मजबुत बनाउन खोजिरहेको छ। ईयूले पनि ताइवानी कम्पनीबाट थप लगानी चाहेको छ। ईयूले युरोपेली आयोगका अधिकारी किलियन ग्रोसलाई सेमीकनमा पठाएर ताइवानी अधिकारी र कम्पनीसमक्ष आफ्नो ‘चिप्स एक्ट २.०’ योजनाबारे जानकारी गराएको थियो।
ताइवानले ईयूसँग नजिकको सहकार्य खोज्नुको कारण रुससँगको युद्धमा युक्रेनलाई दुवै पक्षले बलियो समर्थन गर्नु मात्र होइन। दुवै पक्षको चीनसँग व्यापार तथा कूटनीतिक विवाद पनि रहेको छ।
ताइवानका प्रमुख कूटनीतिज्ञमध्ये एक उपविदेशमन्त्री फ्रान्स्वा वुले फ्रान्सेली प्याभिलियनको उद्घाटन कार्यक्रममा ताइवान र फ्रान्सले लोकतन्त्र, स्वतन्त्रता तथा नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाप्रति प्रतिबद्धताको समान मूल्य मान्यता साझा गर्ने बताए।
प्रकाशित: २२ भाद्र २०८३, सोमबार