काठमाडौं ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत भ्रामक तथा अफवाहजन्य सूचना फैलाउने सामग्रीमाथि कारबाही अघि बढाएको जनाएको छ। प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कारबाहीका लागि फेसबुक, टिकटक र इन्स्टाग्राममा राखिएका २१३ वटा सामग्री पहिचान गरिएको छ।
प्रहरीको विवरणअनुसार फेसबुकका १६८, टिकटकका ४४ र इन्स्टाग्रामको १ वटा सामग्री कारबाहीका लागि पहिचान गरिएको छ। त्यसमध्ये फेसबुकका ६९ र टिकटकका ४ वटा गरी ७३ सामग्री हटाइएको उल्लेख छ।
विशेषगरी विपद् तथा संवेदनशील परिस्थितिमा सामाजिक सञ्जालमार्फत गलत सूचना र अफवाह फैलिँदा सर्वसाधारणमा भ्रम र त्रास सिर्जना हुन सक्ने भन्दै प्रहरीले सूचना शेयर गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ।
नेपाल प्रहरीले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यमा संलग्न व्यक्तिमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान तथा कारबाही गर्दै आएको छ। पछिल्लो समय यूट्युबमार्फत भ्रामक सूचना प्रवाह गरी अफवाह फैलाएको अभियोगमा समेत प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले ‘पुष्टि गरौँ, त्यसपछि मात्र सेयर गरौँ’ भन्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार बन्न आग्रह गरेको छ। विपद्सम्बन्धी सूचना पनि तथ्यमा आधारित र आधिकारिक स्रोतबाट प्राप्त भएपछि मात्र प्रसार गर्न प्रहरीले अनुरोध गरेको छ।
आकस्मिक अवस्थामा प्रहरी कन्ट्रोल १०० र विपद् १२३४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। साइबर अपराध तथा सामाजिक सञ्जालसम्बन्धी घटनाका लागि नेपाल प्रहरीको साइबर ब्यूरोले पनि उजुरी तथा सूचना लिने व्यवस्था गरेको छ।
प्रकाशित: २२ भाद्र २०८३, सोमबार