स्विजरल्याण्डले उद्धारमा सहयोग पुर्याउन अनुदानमा दियो सेमि-अटोनोमस ड्रोन

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
स्विजरल्याण्डले उद्धारमा सहयोग पुर्याउन अनुदानमा दियो सेमि-अटोनोमस ड्रोन

काठमाडौं ।

स्विजरल्याण्डले नेपाललाई चलिरहेको सुरुङ खोज र उद्धार प्रयासहरूलाई समर्थन गर्ने एडभान्स र सेमि अटोनोमस ड्रोन उपलब्ध गराएको छ।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाइबिलिटी’ ले निर्माण गरेको यो विशेष प्रकारको ड्रोन मानवीय उद्धार तथा जोखिमपूर्ण संरचनाको निरीक्षणका लागि प्रयोग गर्न सकिनेछ।

स्विट्जरल्यान्डका मानवीय सहायता विज्ञहरूले शनिबार उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिलाई हस्तान्तरण गरेका नेपालका लागि राजदूत डा डेनियल मेउलीले एक्स पोस्टमार्फत जानकारी दिएकी छन्।

उक्त ड्रोन रातीको समयमा पनि सञ्चालन गर्न सकिने किसिमको छ। यसले मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा सुरूङभित्र खोजी तथा निरीक्षण गर्न सक्ने बताइएको छ।

ड्रोनको वरिपरि विशेष सुरक्षा घेरा राखिएको छ जसले गर्दा सुरूङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किँदा समेत क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमता रहेको छ।

एक्सपोस्टमा राखिएको तस्बिर हेर्दा र फ्लाइबिलिटीको वेबसाइटकाअनुसार उक्त ड्रोन एलिओस ३ (Elios 3) हो। जसलाई कम्पनीले ड्रोनमा आधारित निरीक्षणका लागि तयार पारेको उल्लेख गरेको छ।

एलिओस ३ ले उद्योगहरूलाई उनीहरूको निरीक्षण र म्यापिङलाई अर्को स्तरमा ल्याएर सहजै यी लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्ने कम्पनीको भनाई छ।

कम्प्युटर भिजन र लाइडार म्यापिङको शक्तिमा आधारित एलिओस ३ एक बहुमुखी इनडोर ड्रोन हो जसले रिपोर्टिङका लागि बिबरणहरु थ्रीडी मोडेलमा रुपान्तरण गर्न सक्ने सुबिधा दिन्छ।

हाल भोटेकोशी बाढीपछिको खोज, तलास र उद्धारमा टोलीलाई जोखिमको मूल्याङ्कन, फसेका व्यक्तिको अवस्थाबारे जानकारी संकलन तथा उद्धारको रणनीति तय गर्न यो अनुदान प्राप्त ड्रोनले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार