भोटेकोशी–त्रिशूली बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश टावर सञ्चालनमा

  • Technology Khabar | २१ भाद्र २०८३, आईतवार
भोटेकोशी–त्रिशूली बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश टावर सञ्चालनमा

काठमाडौं ।

भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार पूर्वाधारमा करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनः सञ्चालनका लागि अधिकांश मोबाइल टावर मर्मत गरी सेवा सुचारु गरिएको जनाएको हो।

प्राधिकरणका अनुसार प्रभावित जिल्लामा नेपाल टेलिकमका १२० वटा मोबाइल टावरमध्ये ११६ वटा पुनः सञ्चालनमा ल्याइएको छ। त्यस्तै, एनसेलका ७८ टावरमध्ये ७६ वटा सञ्चालनमा आएका छन्।

पुनःस्थापित टावरबाट अधिकांश स्थानमा मोबाइल कभरेज उपलब्ध गराई अत्यावश्यक दूरसञ्चार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

विद्युत् प्रसारण लाइन अवरुद्ध भएका स्थानमा मोबाइल टावर सञ्चालनका लागि जेनेरेटर प्रयोग गर्नुपर्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए), जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसँग समन्वय गरी इन्धन ढुवानीको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

३० स्याटेलाइट फोन, २९ स्याटेलाइट इन्टरनेट टर्मिनल

बाढीका कारण नियमित दूरसञ्चार सेवा प्रभावित भएका क्षेत्रमा आपत्कालीन सञ्चारका लागि ३० थान स्याटेलाइट फोन सञ्चालनमा ल्याइएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट प्राप्त २० र एनसेलबाट प्राप्त १० थान स्याटेलाइट फोन एनडीआरआरएमएलाई हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ।

त्यस्तै एनसेलबाट २५ र डिशहोममार्फत आयात गरिएका ४ गरी २९ थान लो-अर्थ अर्बिट (एलईओ) स्याटेलाइट इन्टरनेट टर्मिनल रसुवा र नुवाकोटका जिल्ला प्रशासन कार्यालयमार्फत प्रयोग गर्ने व्यवस्था मिलाइएको छ।

रसुवा र नुवाकोटका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र (डीईओसी) को १२३४ हटलाइनमा क्रमशः दुई र एक लाइन थप गरी सूचना तथा गुनासो प्राप्त गर्ने व्यवस्था पनि विस्तार गरिएको छ।

क्षतिको विस्तृत विवरण संकलन हुँदै

प्राधिकरणले दूरसञ्चार पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण संकलनको काम भइरहेको जनाएको छ। सम्बन्धित दूरसञ्चार सेवा प्रदायकबाट विवरण संकलन गरी पूर्वाधार तथा संरचनाको यथाशीघ्र पुनःस्थापना गर्ने तयारी भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार दूरसञ्चार पूर्वाधारतर्फ करिब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको भनाइ छ।

बाढीपछि प्राधिकरणले मोबाइल सेवा प्रदायकमार्फत एसएमएस तथा सीआरबीटीबाट विपद्सम्बन्धी सूचना, खोज तथा उद्धारमा सहयोग पुग्ने सन्देशसमेत प्रवाह गरेको जनाएको छ।

प्राधिकरणले बाढी तथा पहिरोमा ज्यान गुमाएका वा घाइते भएका व्यक्तिका हृदयविदारक तथा संवेदनशील फोटो–भिडियो सामाजिक सञ्जाल तथा वेबसाइटमा पोस्ट नगर्न मोबाइल प्रयोगकर्तालाई आग्रह गरेको छ। त्यस्ता सामग्रीले पीडित परिवार तथा आम नागरिकको मानसिक स्वास्थ्यमा असर पार्न सक्ने प्राधिकरणको भनाइ छ।

त्यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा राहत कोषका नाममा नक्कली क्यूआर कोड तथा अनधिकृत लिंकमार्फत हुन सक्ने वित्तीय ठगीबाट सावधान रहन र आधिकारिक खातामा मात्र रकम पठाउन पनि प्राधिकरणले सचेत गराएको छ।

उद्धार कोषमा १५ करोड दिने निर्णय

बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई पनि बाढीबाट उत्पन्न विपद् व्यवस्थापनका लागि यथाशक्य सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको जनाएको छ।

प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा मोबाइल वा इन्टरनेट सेवामा समस्या भएमा सम्बन्धित दूरसञ्चार सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरण वा डीईओसीको हटलाइन १२३४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रकाशित: २१ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार