एआई र र्‍यान्समवेयर आक्रमण बढेपछि अमेरिकी कम्पनीमा साइबर सुरक्षाको चुनौती

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
एआई र र्‍यान्समवेयर आक्रमण बढेपछि अमेरिकी कम्पनीमा साइबर सुरक्षाको चुनौती
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

विश्वभरका कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट भइरहेका साइबर आक्रमण र र्‍यान्समवेयरको बढ्दो चुनौतीसँग जुधिरहेका छन्। यस्ता आक्रमणका कारण संवेदनशील तथ्यांक चोरी हुनुका साथै कम्पनीहरूको सञ्चालन र सेवा प्रवाहसमेत प्रभावित हुन थालेको छ।

सन् २०२६ को सुरुदेखि अमेरिकासहित विश्वका विभिन्न ठूला कम्पनी साइबर आक्रमणको निशानामा परेका छन्। जनवरीमा नाइकीको ठूलो परिमाणमा तथ्यांक सार्वजनिक गरिएको दाबी गरिएको थियो भने बम्बल, म्याच ग्रुप, क्रन्चबेस र पनेरा ब्रेडमाथि पनि साइबर आक्रमण भएको रिपोर्ट सार्वजनिक भएको थियो।

यसैगरी, विन रिसोर्ट्सबाट कर्मचारीसम्बन्धी तथ्यांक हात लागेको र आक्रमणकारीले बिटक्वाइनमा करिब १५ लाख अमेरिकी डलर बराबरको रकम माग गरेको कम्पनीले जनाएको थियो। मार्चमा स्ट्राइकरमाथि भएको साइबर आक्रमणले विश्वव्यापी रूपमा अर्डर प्रशोधन, उत्पादन तथा ढुवानीमा असर पुर्‍याएको थियो।

एआई तथा प्रविधि क्षेत्रसमेत साइबर जोखिमबाट अछुतो रहन सकेको छैन। अप्रिलमा ओपनएआईले तेस्रो पक्षको डेभलपर टुलसँग सम्बन्धित सुरक्षा समस्या पहिचान गरेको जनाएको थियो। यद्यपि, उक्त घटनाबाट प्रयोगकर्ताको तथ्यांक, प्रणाली वा बौद्धिक सम्पत्तिमा क्षति पुगेको प्रमाण नभेटिएको कम्पनीले बताएको थियो।

रोयटर्सका अनुसार शैक्षिक क्षेत्रमा प्रयोग हुने क्यानभास प्लेटफर्मसमेत मे महिनामा साइबर आक्रमणको चपेटामा परेको थियो। उक्त घटनाबाट करिब नौ हजार संस्थासँग सम्बन्धित विद्यार्थी तथा विद्यालयका तथ्यांक प्रभावित भएको जनाइएको थियो।

स्वास्थ्य तथा औषधि क्षेत्रमा समेत साइबर आक्रमण बढ्दो क्रममा देखिएको छ। नोभो नोर्डिस्क, आईरिदम होल्डिङ्स, एडाप्टहेल्थ तथा अन्य स्वास्थ्यसम्बन्धी कम्पनीका प्रणाली र संवेदनशील तथ्यांकमा अनधिकृत पहुँच भएको घटनाहरू सार्वजनिक भएका छन्।

पछिल्ला महिनामा कोका–कोला, लेभी स्ट्रस, उबर, जीई, फिसर्भ, अपोलो ग्लोबल म्यानेजमेन्ट र बोस्टन साइन्टिफिकलगायत कम्पनीहरू पनि साइबर घटना तथा तथ्यांक चोरीको जोखिममा परेका छन्। कतिपय घटनाले उत्पादन, ढुवानी र सेवा सञ्चालनमा प्रत्यक्ष असर पुर्‍याएको छ।

यसबीच, सेप्टेम्बर १ मा नोभोक्योर लिमिटेडले आफ्ना केही प्रणालीमा अनधिकृत पहुँच भएको जानकारी दिएको छ। घटनाबाट अमेरिकाका एक हजार चार सयभन्दा बढी बिरामीका आन्तरिक परिचय नम्बरसम्बन्धी विवरण प्रभावित भएको कम्पनीले जनाएको छ।

साइबर आक्रमण बढ्दै गएपछि कम्पनीहरूले आफ्नो डिजिटल सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्ने आवश्यकता बढेको छ। एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षासम्बन्धी जोखिम पनि जटिल बन्दै गएको विश्लेषण गरिएको छ।

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार