काठमाडौं ।
निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) माइकल फोलीले पदबाट राजीनामा दिएका छन्।
फोलीले भदौ ९ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन्। उनको राजीनामा पछि कम्पनीको सञ्चालक समितिले डिल्लीराम श्रेष्ठलाई सिइओको सम्पूर्ण काम गर्ने गरी अन्तरिम अख्तियारी दिएकाे छ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई उनको राजीनामा बारेमा जानकारी गराइएकाे छ। सो पत्रमा भनिएकाे छ,“ यस कम्पनीकाे सञ्चालक समतिकाे निर्णयअनुसार यस कम्पनीकाे नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्म अन्तरिम व्यवस्था अन्तर्गत यस कम्पनीकाे लिमिट्स अफ् अथाेरिटी अन्तर्गत प्रमुख कार्यकारी अधिकृतलाइ भएकाे सम्पूर्ण अख्तियारी प्रयाेग गर्ने गरी कम्पनीकाे प्रमखु कर्पाेरेट तथा नियमक अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी प्रदान गरिएकाे व्यहाेरा जानकारी र अभिलेखकाे लागि सादर अनुराेध गर्दछाैँ।”
फोलीले २०८२ कात्तिक १५ गते एनसेलको नेतृत्व सम्हालेका थिए तर करिब १० महिनाको कार्यकालपछि उनले पदबाट राजीनामा दिएका हुन्। अन्तरिम सिइओको जिम्मेवारी सम्हालेका श्रेष्ठ यसअघि एनसेलमा प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत थिए।
प्रकाशित: १९ भाद्र २०८३, शुक्रबार