काठमाडौं ।
प्रेस काउन्सिल भोटेकोशी नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिबारे सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीको अनुगमन गर्दा १८ वटा सामग्रीलाई पत्रकार आचारसंहिताविपरीत पाइएको जनाएको छ।
काउन्सिलले २० वटा सामग्रीको अनुगमन गरेकोमा १२ वटा दर्ता भएका सञ्चारमाध्यम, ६ वटा दर्ता नभएका मिडिया तथा सामाजिक सञ्जाल र दुई वटा पत्रकारका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री रहेको जनाएको छ।
तीमध्ये आचारसंहिता प्रतिकूल देखिएका १८ वटा सामग्री हटाउन वा सच्याउन सम्बन्धित पक्षलाई टेलिफोनमार्फत निर्देशन दिइएको काउन्सिलको अनुगमन विवरणमा उल्लेख छ।
काउन्सिलले भदौ १८ गते सार्वजनिक गरेको विवरणअनुसार अनुगमनका क्रममा बाढीमा मृत्यु भएका व्यक्तिको शवबाट सुन निकालिरहेको देखाउने, शवका टुक्रा तथा मृतकका संवेदनशील दृश्यहरू प्रसारण गर्ने सामग्री भेटिएका छन्। यस्ता सामग्री विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका पेजबाट प्रसारण गरिएको काउन्सिलले जनाएको छ।
त्यस्तै, बाढीका बेला नेपाली सेनाले सुरुङभित्र उद्धार गरिरहेको भन्दै पुरानो वा असम्बन्धित भिडियो प्रयोग गरिएको सामग्री पनि भेटिएको छ। बाढीका कारण मानिसको मानसिक स्वास्थ्यमा समस्या आएको भन्दै नेपाली सेनाले देखाएको पुरानो ‘डेमो’ भिडियो प्रसारण गरिएको सामग्रीलाई समेत काउन्सिलले आचारसंहिताविपरीत मानेको छ।
अनुगमनमा रसुवा बाढीमा उद्धारका क्रममा गृहमन्त्री सडक तथा सुरुङभित्र गएको भन्दै अन्य देशको भिडियो प्रयोग गरिएको सामग्री पनि भेटिएको छ। त्यसैगरी, रसुवाको बाढीमा डुबेको क्षेत्रमा तिब्बतमा ड्याम फुटेर भोटेकोशीमा पानी मिसिएको भन्ने दाबी गरिएको भ्रमपूर्ण एआई सामग्री समेत सामाजिक सञ्जालमा राखिएको काउन्सिलको विवरणमा उल्लेख छ।
काउन्सिलका अनुसार केही सामग्रीमा बाढीबाट मृत्यु भएकाको शवबाट सुन निकाल्दै गरेको दाबी गरिएको भिडियो सामाजिक सञ्जालमार्फत प्रसारण गरिएको थियो। केही सामग्रीमा बाढीले बगाएर ल्याएका शवका टुक्रा तथा मृतकका दृश्यहरू प्रयोग गरिएका थिए।
काउन्सिलले रामकुमार एलन र मेघजन कडायत लगायत पत्रकारका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्री तथा पुलेसो टीभी, सुदूर लाइभ, मेलोडी मिडिया, दुधौली एफएम, पालिका दर्पण, न्यूज अपडेट, सूर्योदय न्यूज, परिवर्तन खबर, शैलेली न्यूज र ओएस नेपाल लगायतका सञ्चारमाध्यमबाट प्रकाशित/प्रसारित सामग्रीको अनुगमन गरेको हो।
विशेषगरी विपद्को समयमा सामाजिक सञ्जालमा पुरानो भिडियो, असम्बन्धित दृश्य र एआईबाट तयार पारिएको सामग्रीलाई वास्तविक घटनाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको देखिएको काउन्सिलको अनुगमनले देखाएको छ। यस्ता सामग्रीले उद्धार तथा राहतमा खटिएका निकाय, पीडित र सर्वसाधारणमा थप भ्रम सिर्जना गर्ने जोखिम हुन्छ।
प्रेस काउन्सिलले सञ्चारमाध्यम तथा पत्रकारलाई विपद्सम्बन्धी समाचार सम्प्रेषण गर्दा सामग्रीको तथ्य पुष्टि गर्न, पुराना वा असम्बन्धित दृश्य प्रयोग नगर्न तथा मृतक र पीडितका संवेदनशील दृश्यलाई प्राथमिकताका साथ नदेखाउन आचारसंहिताले तोकेको मर्यादा पालना गर्नुपर्ने स्पष्ट सन्देश दिएको छ।
प्रकाशित: १८ भाद्र २०८३, बिहीबार