काठमाडौं ।
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले बुधबार जी२० देशहरूलाई ‘सैद्धान्तिक जोखिम’मा केन्द्रित भएर एआईसम्बन्धी नियम नबनाउन आग्रह गरेका छन्। उनले एआईसँग सम्बन्धित वास्तविक समस्यालाई सम्बोधन गर्ने नियम बनाउनुपर्ने बताएका छन्।
ह्वाङले अमेरिकाको नर्थ क्यारोलिनास्थित च्यापल हिलमा आयोजित प्रविधि केन्द्रित जी२० बैठकमा यस्तो बताएका हुन्। बैठकमा अमेरिकी वाणिज्यमन्त्री हवार्ड लटनिक पनि सहभागी थिए। एन्थ्रोपिकका टम ब्राउन र ओपनएआईका साम अल्टम्यान पनि बुधबारको बैठकमा सहभागी हुने कार्यक्रम छ।
ह्वाङको भनाइ मंगलबार बैठकको पहिलो चरणमा बोलेका ट्रम्प प्रशासनका अधिकारी र अन्य अमेरिकी टेक कम्पनीका कार्यकारीहरूको भनाइसँग मिल्दोजुल्दो छ।
रोयटर्सकाअनुसार ती कार्यकारीहरूले तीव्र रूपमा विस्तार भइरहेका आफ्ना व्यवसायमा विश्वभर कम नियमन हुनुपर्ने वा नियम बनाउँदा आफूहरूले त्यसलाई प्रभावित गर्न पाउनुपर्ने चाहना राखेका छन्।
सरकारले बनाउने कडा नियमले नयाँ एआई मोडल सार्वजनिक गर्न ढिलाइ भएमा वा सुरक्षा चिन्ता सम्बोधन गर्न कम्पनीहरूले आफ्ना उत्पादनको काम गर्ने तरिका परिवर्तन गर्नुपरेमा उद्योगको नाफामा असर पर्न सक्ने उनीहरूको भनाइ छ।
अमेरिकाले जी२० सदस्य राष्ट्रहरूलाई एआईका लागि पूर्ण रूपमा नयाँ नियम बनाउनुको सट्टा प्रविधिसँग सम्बन्धित ‘नयाँ’ परिस्थितिका लागि नियम बनाउन केन्द्रित गराउने प्रयास गरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रविधि सल्लाहकार माइकल क्राट्सियोसले मंगलबार बताएका थिए।
प्रकाशित: १८ भाद्र २०८३, बिहीबार