काठमाडौं ।
उबरले व्यवस्थापनका तह घटाउन आफ्नो कुल कर्मचारी संख्याको करिब १० प्रतिशत कटौती गर्ने योजना बनाएको छ।
कम्पनीको वार्षिक प्रतिवेदनअनुसार गत वर्षको अन्त्यसम्म उबरमा विश्वभर करिब ३४ हजार कर्मचारी थिए।
यो कटौती सन् २०२० को मेपछि उबरले गर्न लागेको सबैभन्दा ठूलो कर्मचारी कटौती हुनेछ। त्यतिबेला कोरोना महामारीका कारण आवतजावतमा लगाइएको प्रतिबन्धले राइड–हेलिङ सेवाको माग घटेपछि कम्पनीले करिब ६ हजार ७ सय कर्मचारी अर्थात् आफ्नो कुल कर्मचारीको झन्डै एक चौथाइ कटौती गरेको थियो।
रोयटर्स प्रविधि उद्योगमा संगठनलाई चुस्त बनाउने प्रयास भइरहेका बेला उबरका प्रमुख कार्यकारी अधिकृत दारा खोस्रोसाहीले कर्मचारी कटौतीले कम्पनीको संगठनात्मक जटिलता घटाउने बताएका छन्। उनका अनुसार यस जटिलताका कारण निर्णय लिन ढिलाइ भइरहेको थियो र समन्वयमा केन्द्रित धेरै पदहरू सिर्जना भएका थिए।
तर अन्य केही टेक कम्पनीका प्रमुख कार्यकारीजस्तो उनले कर्मचारी कटौतीको कारण एआईलाई भनेका छैनन्। उनले यस क्रममा केही टोलीलाई एकीकृत गर्ने र अधिकांश कर्मचारीलाई प्रमुख कार्यालय केन्द्रहरूमा केन्द्रित गर्ने बताएका छन्।
उबरका अनुसार सीईओभन्दा सात वा सोभन्दा बढी व्यवस्थापन तह तल रहेका कर्मचारीको संख्या २० प्रतिशतले घटाइएको छ। त्यस्तै, एक वा दुई जना मात्र प्रत्यक्ष कर्मचारीलाई हेर्ने ‘माइक्रो–टिम’को संख्या पनि झन्डै आधाले घटाइएको छ।
कम्पनीले आफ्ना विश्वव्यापी टोलीलाई न्यूयोर्क र सान फ्रान्सिस्कोमा केन्द्रित गर्नेछ। अधिकांश रिमोट कर्मचारीलाई ती स्थानमा स्थानान्तरण हुनुपर्नेछ। पूर्ण रूपमा रिमोट काम गर्ने पदलाई कुल कर्मचारीको करिब १ प्रतिशतमा सीमित गरिनेछ। भने, हप्तामा तीन दिन कार्यालयमा उपस्थित हुनुपर्ने नीति भने कायम रहनेछ।
यो घोषणा सार्वजनिक भएपछि प्रि–मार्केट कारोबारमा उबरको सेयर मूल्य करिब २ प्रतिशतले बढेको थियो। उक्त घोषणा पहिलोपटक ब्लुमबर्ग न्युजले सार्वजनिक गरेको थियो।
प्रकाशित: १८ भाद्र २०८३, बिहीबार