काठमाडौं ।
जोन टर्नसले आधिकारिक रूपमा एप्पलको सीईओको जिम्मेवारी सम्हालेका छन्। उनले १५ वर्षदेखि यो भूमिका सम्हाल्दै आएका टिम कुकलाई प्रतिस्थापन गरेका हुन्।
कम्पनीका पूर्व हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष टर्नसले एप्पलका लागि महत्वपूर्ण समयमा सीईओको जिम्मेवारी सम्हालेका छन्। सेप्टेम्बर ९ मा कम्पनीले आफ्नो वार्षिक आईफोन कार्यक्रम आयोजना गर्दैछ।
उक्त कार्यक्रममा एप्पलको पहिलो फोल्डेबल आईफोन सार्वजनिक हुने अनुमान गरिएको छ। एप्पलले आफ्नो नयाँ र सुधारिएको सिरी एआईलाई पनि व्यापक रूपमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
टेकक्रञ्चका अनुसार यसले ओपनएआईको च्याटजीपीटी वा एन्थ्रोपिकको क्लाउडजस्ता च्याटबोटसँग प्रतिस्पर्धा गर्न सिरीलाई सक्षम देखाउने महत्वपूर्ण अवसर एप्पललाई दिनेछ।
ब्लुमबर्गका अनुसार टर्नसले मंगलबार कर्मचारीलाई पठाएको सन्देशमा लेखेका छन्, “अर्को साता हाम्रो ठूलो लन्च हुँदैछ, जुन निकै शानदार हुनेछ। त्यसपछि के आउँछ भन्ने विषयमा पनि म उत्तिकै उत्साहित छु। यसमा निर्माणको क्रममा रहेका उत्कृष्ट उत्पादनहरू तथा हामीले अहिलेसम्म कल्पना नगरेका उत्पादनहरू पनि छन्, जसलाई हामी सँगै सोच्ने र निर्माण गर्नेछौं।”
एप्पलले क्यामेरासहितका एयरपड्स, स्मार्ट चस्मा र टचस्क्रिनयुक्त ल्यापटपजस्ता नयाँ उत्पादनमा काम गरिरहेको चर्चा छ।
टिम कुकले एप्पलको सीईओका रूपमा आफ्नो अन्तिम दिन कर्मचारीलाई लेखेको सन्देशमा भनेका थिए, “जोनजस्तो प्रतिभाशाली, उत्कृष्ट र सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्न पाउँदा म निकै ढुक्क छु। जोनले जस्तो संसार परिवर्तन गर्ने उत्पादन निर्माण गर्न के आवश्यक पर्छ भन्ने कुरा थोरै मानिसले मात्र बुझ्छन्। उनको नेतृत्वका लागि म निकै उत्साहित छु।”
प्रकाशित: १८ भाद्र २०८३, बिहीबार