अब च्याटजीपीटी, रेडिट र रोब्लक्स पनि ईयूको डिजिटल सर्भिसेस एक्ट मातहत

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
अब च्याटजीपीटी, रेडिट र रोब्लक्स पनि ईयूको डिजिटल सर्भिसेस एक्ट मातहत

काठमाडौं ।

यूरोपमा कुनै अनलाइन प्लेटफर्म निश्चित आकारमा पुगेपछि उसले डिजिटल सर्भिसेस एक्ट (डीएसए) अन्तर्गत तोकिएका थप दायित्वहरू पालना गर्नुपर्ने हुन्छ।

डीएसए अन्तर्गत कुनै प्लेटफर्मलाई तोक्न युरोपेली संघ (ईयू) मा औसत मासिक ४ करोड ५० लाख प्रयोगकर्ता हुनुपर्ने सीमा तोकिएको छ। एआई च्याटबोट च्याटजीपीटी उक्त सीमामा पुगेपछि यूरोपेली आयोगले यसलाई अब ‘भेरी लार्ज अनलाइन सर्च इन्जिन’ का रूपमा वर्गीकरण गरेको छ।

त्यस्तै, इन्टरनेट समुदाय रेडिट र बालबालिकाका लागि अनलाइन गेमिङ प्लेटफर्म रोब्लक्स पनि उक्त आकारमा पुगेका छन्। त्यसैले यी दुवैलाई ‘भेरी लार्ज अनलाइन प्लेटफर्म’ का रूपमा वर्गीकरण गरिएको छ।

डीएसएको उद्देश्य अत्यधिक ठूलो र अर्ध-एकाधिकारको अवस्थामा पुगेका डिजिटल सेवाबाट उपभोक्तालाई हुने शोषणबाट जोगाउनु हो। यसले यस्ता कम्पनीलाई प्रतिस्पर्धाविरोधी गतिविधिको सीमाभन्दा बाहिर जान नदिन निश्चित नियम र मापदण्ड तय गर्ने प्रयास गर्छ।

टेलिकम्स डटकमका अनुसार यद्यपि डीएसएले कम्पनीका सेवा सञ्चालन गर्ने आधारभूत प्रणालीको अनुसन्धान गर्न सक्ने अधिकारजस्ता केही शक्तिहरू पनि दिएको छ, जसलाई निकै हस्तक्षेपकारी मान्न सकिन्छ।

“यी नयाँ वर्गीकरणसँगै च्याटजीपीटी, रेडिट र रोब्लक्सले अब यूरोपेली संघमा उच्च स्तरको निगरानी र जवाफदेहिताको सामना गर्नुपर्नेछ। यो हाम्रा नागरिक र समाजमा उनीहरूको ठूलो प्रभावसँग पनि मेल खान्छ,” यूरोपेली आयोगकी टेक्नोलोजी सार्वभौमिकता, सुरक्षा तथा लोकतन्त्रसम्बन्धी कार्यकारी उपाध्यक्ष हेन्ना भिर्कुनेनले भनिन्। “हामी डिजिटल क्षेत्रलाई नजिकबाट निगरानी गरिरहेका छौं र डिजिटल सर्भिसेस एक्टअन्तर्गत थप निगरानीका लागि तोकिएको सीमा पूरा गर्ने कुनै पनि प्लेटफर्मलाई वर्गीकरण गर्न हिचकिचाउने छैनौं।”

अब यी प्लेटफर्मले नयाँ डीएसए दायित्व पालना गर्न वर्षको अन्त्यसम्मको समय पाएका छन्। पालना नगरेमा उनीहरूले युरोपेली आयोगको कारबाही सामना गर्नुपर्नेछ। च्याटजीपीटी र रेडिट को युरोपेली मुख्यालय रहेको आयरल्यान्डको मिडिया कमिशन तथा रोब्लक्सका लागि नेदरल्यान्ड्सको अथोरिटी फर कन्ज्युमर्स एण्ड मार्केट्ससँगको सहकार्यमा अनुपालनको मूल्यांकन गरिनेछ।

यस कदमसँगै डीएसए अन्तर्गत ‘भेरी लार्ज’ का रूपमा वर्गीकरण गरिएका डिजिटल प्लेटफर्मको संख्या २८ पुगेको छ। सूचीमा रहेका प्लेटफर्महरू यसप्रकार छन्:

अलीएक्सप्रेस च्याटजीपीटी गुगल शपिङ रोब्लक्स रेडिट ह्वाट्सएप
अमेजन स्टोर फेसबुक इन्स्टाग्राम शिन टिकटक विकिपिडिया
एप्पल एप स्टोर गुगल सर्च लिंक्डइन स्न्यापच्याट एक्स युट्युब
बिङ गुगल प्ले पिन्टरेस्ट स्ट्रिपच्याट एक्सएनएक्सएक्स जालान्डो
बुकिङ डट कम गुगल म्याप्स पोर्नहब टेमु एक्सभिडियोज

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...