काठमाडौं ।
पेन्टागनले ओपनएआईकोग्रोकका च्याटजीपीटी र एक्सएआईको आफ्नै संस्करण सार्वजनिक गरेको छ। यससँगै अमेरिकी रक्षा विभागका ३० लाख नागरिक तथा सैन्य कर्मचारीले ‘युद्धकर्मीको आवश्यकता’अनुसार तयार पारिएका जेनेरेटिभ एआई उपकरण प्रयोग गर्न सक्ने भएका छन्।
च्याटजीपीटी मिल र ग्रोक फर गभर्मेन्ट नामका यी लोकप्रिय जेनेरेटिभ एआई उपकरणका विशेष संस्करण अब गत वर्ष सुरु गरिएको केन्द्रीकृत र सुरक्षित पोर्टल GenAI.mil को हिस्सा बनेका छन्।
GenAI.mil सुरु हुँदा गुगल जेमिनीसहित उपलब्ध थियो। यो पोर्टल रक्षा विभागका कर्मचारीलाई सामान्य उपभोक्ता च्यानलमार्फत संवेदनशील सरकारी डेटा पठाउन नपर्ने गरी व्यावसायिक फ्रन्टियर एआई मोडल प्रयोग गर्ने सुविधा दिन बनाइएको हो। विशेषगरी, सैन्य प्रयोजनका लागि तयार गरिएको संस्करणमा उपभोक्ता प्रविधि उत्पादनमा रोक्न कठिन हुने डेटा संकलनबाट छुट दिइएको छ।
रक्षा विभागका अनुसार जेनेरेटिभ एआई पोर्टल लोकप्रिय पनि बनेको छ। विभागका ३० लाख कर्मचारीमध्ये हालसम्म १७ लाखभन्दा बढी फरक प्रयोगकर्ताले GenAI.mil प्रयोग गरिसकेका छन्।
पेन्टागनमा थपिएका यी नयाँ एआई उपकरणहरू सुरक्षा कायम राख्दै कामलाई तीव्र बनाउन र रक्षा विभागलाई रणनीतिक फाइदा दिलाउने व्यापक प्रयासको हिस्सा हुन्।
यसले एन्थ्रोपिकको क्लाउड मोडलको अनुपस्थिति र उक्त कम्पनीसँग विवाद भएपछि अन्य कम्पनीसँग सहकार्य गर्ने पेन्टागनको प्रयासलाई पनि देखाउँछ।
एन्थ्रोपिकले पेन्टागनलाई आफ्ना एआई उपकरणमा बिना प्रतिबन्ध प्रयोगको अनुमति दिन अस्वीकार गर्दै केही सुरक्षा प्रबन्ध कायम राख्नुपर्ने अडान लिएपछि ट्रम्प प्रशासनले उक्त कम्पनीलाई ‘सप्लाई-चेन जोखिम’का रूपमा वर्गीकरण गरेको थियो। कम्पनीले अहिले अदालतमा उक्त निर्णयविरुद्ध चुनौती दिइरहेको छ।
टेकक्रञ्चका अनुसार ओपनएआईको ‘ओपनएआई फर गभर्मेन्ट’ कार्यक्रमअन्तर्गत तयार गरिएको च्याटजीपीटी मिलले व्यावसायिक च्याटजीपीटी प्रयोगकर्तालाई परिचित हुने अनुभव दिनेछ।
रक्षा विभागका अनुसार यस उपकरणमा च्याट, फाइल, प्रोजेक्ट र कस्टम जीपीटीजस्ता सुविधा हुनेछन्। यसले प्रशासनिक काम, लजिस्टिक्स, योजना तथा नीति निर्माणजस्ता कागजातमा आधारित नियमित र गैर-वर्गीकृत काममा पनि सहयोग गर्नेछ। समयसँगै थप सुविधा पनि समावेश गरिनेछ।
पेन्टागनले ग्रोकको क्षमता र सम्भावित प्रयोगलाई भने अझ व्यापक र सैन्य केन्द्रित रूपमा प्रस्तुत गरेको छ।
रक्षा विभागको प्रेस विज्ञप्तिअनुसार, ‘स्टारसिल्ड एआईको ग्रोक फर गभर्मेन्टले युद्धकर्मीलाई तत्काल उत्पादकत्व वृद्धि, ज्ञानको निरन्तरता र अझ सुरक्षित तथा प्रभावकारी सहकार्य उपलब्ध गराउनेछ।’ स्पेसएक्सको स्टारसिल्ड एआई कम्पनीको विद्यमान स्टारलिंक प्रविधि प्रयोग गर्ने सुरक्षित स्याटेलाइट नेटवर्क हो।
विभागले ग्रोकको प्रयोगबाट अमेरिकी सेनाले विभिन्न परिचालन क्षेत्रमा अझ छिटो र सटीक रूपमा मिसन सञ्चालन गर्न सक्ने जनाएको छ। यसमा खरिदसम्बन्धी कर्मचारीका लागि बजार अनुसन्धान विश्लेषणदेखि लजिस्टिक्स कर्मचारीका लागि आपूर्ति शृंखला व्यवस्थापनसम्मका काम समावेश छन्।
पेन्टागनले आफ्नो एआई क्षमता बढाउन अमेजन वेब सर्भिसेज, माइक्रोसफ्ट, एनभिडिया र रिफ्लेक्सन एआईलगायत अन्य प्रविधि कम्पनीसँग पनि सम्झौता गरेको छ।
प्रकाशित: १७ भाद्र २०८३, बुधबार