काठमाडौं ।
चालु आर्थिक वर्ष २०८३/२०८४ को पहिलो महिना साउन २०८३ मा नेपालमा कार्डमार्फत भुक्तानी हुने ई–कमर्सको कारोबार रकम र सङ्ख्या बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ साउन मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार ई–कमर्समार्फत हुने कारोबारको रकम २८ करोड २० लाख र सङ्ख्या ३८ हजार ९७३ ले बढेको पाइएको हो।
विवरण अनुसार २०८३ साउन महिनाभरीमा ई–कमर्समार्फत १ अर्ब ९५ करोड १० लाख रुपैयाँ कारोबार भएको देखिएको छ। यो रकम अघिल्लो महिना अर्थात् असार मसान्तसम्म १ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो।
कारोबार सङ्ख्याका हिसाबले हेर्दा २०८३ साउन मसान्तसम्म ई–कमर्स मार्फत ३ लाख २३ हजार ८३३ पटक कारोबार भएको पाइएको छ। अघिल्लो महिना अर्थात् २०८३ असार मसान्तसम्म भने २ लाख ८४ हजार ८६० पटक कारोबार भएको थियो।
तुलनात्मक रुपमा हेर्दा असार मसान्त देखि साउन मसान्तसम्म आउँदा ई–कमर्समार्फत हुने कारोबार सङ्ख्यामा ३८ हजार ९७३ ले बढेको विवरणबाट प्रस्ट हुन्छ।
प्रकाशित: १७ भाद्र २०८३, बुधबार