जापानले ५५.६ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई, ड्रोन विकासमा जोड दिने

  • Technology Khabar | १७ भाद्र २०८३, बुधबार
जापानले ५५.६ अर्ब डलरको रक्षा बजेट प्रस्ताव, एआई, ड्रोन विकासमा जोड दिने

काठमाडौं ।

जापानको रक्षा मन्त्रालयले सोमबार ८.९ ट्रिलियन येन (५५.६ अर्ब डलर बराबर) को विशाल आकारको बजेट माग गरेको छ। तनावपूर्ण सुरक्षा वातावरणमा निर्णय प्रक्रिया छिटो बनाउन टोकियो कृत्रिम बुद्धिमत्ता (एआई)तर्फ लागिरहेको छ।

बजेटको अन्तिम रूप १० ट्रिलियन येनसम्म पुग्न सक्ने रिपोर्ट जापानी अधिकारीहरूले गरेका छन्। जापानले चीन, उत्तर कोरिया र रूससँग बढ्दो तनाव सामना गर्न रक्षा क्षेत्रको व्यापक स्तरोन्नति गर्दैछ।

नवीनतम मागले एआई, ड्रोन र स्ट्यान्डअफ क्षेप्यास्त्रको प्रयोगजस्ता ‘युद्धका नयाँ तरिका’ को सामना गर्न आवश्यकता देखिएको भन्ने बिषयलाई जोड दिएको छ।

मागअनुसार मन्त्रालयले एआई–संचालित निर्णय सहयोग प्रणाली लागू गर्न चाहन्छ।

यसले कम लागतका ड्रोन किन्न पनि चाहन्छ, जसले लामो दूरीका क्षेप्यास्त्रसँग मिलेर शत्रुका सम्पत्ति निष्क्रिय पार्न सक्छ।

मन्त्रालयले पानीमुनिबाट प्रक्षेपण हुने हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने र संज्ञानात्मक युद्धविरुद्ध रक्षा बलियो बनाउन नयाँ इकाई स्थापना गर्ने योजना बनाएको छ । संज्ञानात्मक युद्ध गलत सूचना अभियानमार्फत सार्वजनिक मतलाई प्रभाव पार्ने बढ्दो खतरा हो।

सन् २०२७ अप्रिलदेखि सुरु हुने आर्थिक वर्षको बजेट मागले जापानले अस्थिर भूराजनीतिक यथार्थ सामना गर्न सैन्य क्षमता बढाउने र आत्मरक्षाका लागि मात्र बल प्रयोगजस्ता परम्परागत शान्तिवादी अडान बिस्तारै छोड्ने नवीनतम कदम देखाउँछ।

चीनको तीव्र सैन्य विस्तार र उत्तर कोरियाको क्षेप्यास्त्र तथा आणविक हतियारको निरन्तर विकासले जापानलाई सुरक्षा बलियो बनाउन बाध्य पारेको छ।

युक्रेनमा रूसको युद्धले जापानी नीति निर्माताहरूमा पूर्वी एसियामा पनि यस्तै द्वन्द्व हुन सक्ने चिन्ता बढाएको छ। चीनको ताइवानमाथि बढ्दो दबाब र जापानसँगको क्षेत्रीय विवादलाई ध्यानमा राख्दा यस्तो चिन्ता आएको हो। रासस/ सिन्ह्वा

प्रकाशित: १७ भाद्र २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार