काठमाडौं ।
अर्बपति इलन मस्कले एआई उद्योगको सबैभन्दा ठूलो समस्यामध्ये एक समाधान गर्ने उपाय आफूले फेला पारेको बताएका छन्। त्यसका लागि उनले उत्पादन गर्न कठिन मानिने टर्बाइनको एउटा पार्ट आफैं उत्पादन गर्ने योजना अघि सारेका छन्।
शनिबार मस्कले टेक्सासको बास्टरोपमा स्पेसएक्सले गोप्य रूपमा निर्माण गरिरहेको फाउन्ड्री केका लागि हो भन्ने पुष्टि गरे। यो विवरण सार्वजनिक हुनुअघि नै यसबारे जानकारी बाहिर आउन थालेको थियो। त्यही दिन द इन्फर्मेसनले रोजगारीका विज्ञापनलाई उद्धृत गर्दै स्पेसएक्सले ‘ब्लेड्स एन्ड वेन्स फाउन्ड्री’ निर्माण गरिरहेको जनाएको थियो।
एआई पूर्वाधार साइटबारे विस्तृत अध्ययन गर्ने कोरी ट्रिनेट्टीले पनि स्पेसएक्सले मार्चदेखि जुनबीच बास्टरोपमा रहेको आफ्नो स्टारलिंक कारखानानजिक करिब ८३० एकड जमिन किनेको बताएका थिए।
टेकक्रञ्चका अनुसार “स्पेसएक्स र टेस्लाले सकेसम्म छिटो प्रत्येक वर्ष १०० गिगावाट क्षमताको सौर्य उत्पादन गर्न लागिरहेका छन्,” मस्कले शनिबार एक्समा लेखेका छन्, “तर आगामी केही वर्षसम्म सौर्य ऊर्जालाई सहयोग गर्न र त्यसलाई सुरु गर्न प्राकृतिक ग्यास आवश्यक पर्नेछ। प्राकृतिक ग्यास टर्बाइन उत्पादनमा सबैभन्दा ठूलो बाधा ब्लेड र वेन्सको कास्टिङ हो। स्पेसएक्समै कास्टिङ गरेर हामी प्राकृतिक ग्यास टर्बाइन सञ्चालनमा आउन लाग्ने समय १८ महिनासम्म घटाउन सक्छौं। यो ठूलो परिवर्तन हुनेछ।”
यसको कारण एआई उद्योगले अहिले सामना गरिरहेको एउटा ठूलो समस्यासँग जोडिएको छ। जीपीयूको अभाव अझै समस्या नै छ। उदाहरणका लागि, एनभिडियाका नयाँ ब्ल्याकवेल चिपका लागि अझै केही महिनासम्म कुर्नुपर्ने अवस्था छ। तर यससँगै अर्को समस्या पनि देखिएको छ—भौतिक विद्युत् ग्रिडको क्षमता।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० सम्म विश्वभर डाटा सेन्टरले प्रयोग गर्ने विद्युत् करिब दोब्बर हुने अनुमान गरेको छ। ग्यास टर्बाइन निर्माता जीई भेर्नोभाले एआई पूर्वाधारको मागका कारण सन् २०३० सम्म आफ्नो उत्पादन क्षमता लगभग पूरा भइसकेको जनाएको छ।
यही अभावका कारण डेटा सेन्टरलाई विद्युत् ग्रिडसँग जोडिन कुर्नुको सट्टा त्यसकै छेउमा निजी ग्यासबाट चल्ने विद्युत् प्लान्ट निर्माण गर्ने रणनीति ठूलो डेटा सेन्टर सञ्चालन गर्ने कम्पनीहरूबीच सामान्य बन्दै गएको छ।
अमेजन, गुगल, मेटा, ओपनएआई र माइक्रोसफ्टलगायत कम्पनीले पनि यस्तो उपाय अपनाइरहेका छन्। वर्षौंसम्म हावा र सौर्य ऊर्जालाई प्राथमिकता दिएका यी कम्पनी अहिले डाटा सेन्टर छिटो सञ्चालन गर्न प्राकृतिक ग्यासमा भर पर्न थालेका छन्।
ग्यास टर्बाइनको ब्लेड कास्टिङको समस्यालाई हेर्दा, द इन्फर्मेसनका अनुसार टर्बाइनको सबैभन्दा तातो भागमा रहेका ब्लेडले करिब ३ हजारदेखि ३ हजार ६ सय डिग्री फरेनहाइटसम्मको तापक्रममा काम गर्छन्। यो तापक्रम ब्लेड बनाउन प्रयोग हुने धातुको मिश्रधातु पग्लिने तापक्रमभन्दा करिब ८ सय डिग्री बढी हो।
ब्लेडभित्र रहेका विशेष चिस्याउने मार्ग, तापबाट बचाउने कोटिङ र ब्लेड बनाउने विशेष कास्टिङ प्रक्रियाका कारण मात्रै यस्तो उच्च तापक्रममा ब्लेडले काम गर्न सक्छन्। विश्वमा चारवटा कम्पनीले मात्रै औद्योगिक स्तरमा यस्ता ब्लेड कास्ट गर्ने प्रविधि हासिल गरेका छन् र अहिले ती सबैको उत्पादन क्षमता भरिइसकेको छ।
यो प्रक्रिया अझ कठिन हुनुको कारण प्रत्येक ब्लेड एउटै टुक्राको निरन्तर क्रिस्टलका रूपमा बनाउनुपर्ने हुन्छ। यसका लागि भ्याकुम फर्नेसभित्र धातुलाई बिस्तारै जमाउनुपर्छ, जसमा सामान्य कास्ट धातुमा तनावका कारण चिरा पर्न सक्ने सूक्ष्म जोडहरू हुनु हुँदैन।
जेट इन्जिनमा प्रयोग हुने साना ब्लेडका लागि पनि यो प्रक्रिया कठिन हुन्छ। विद्युत् प्लान्टमा प्रयोग हुने टर्बाइनका ब्लेड अझ ठूलो हुने भएकाले त्यसलाई ठूलो आकारमा र कुनै खराबीबिना उत्पादन गर्नु झन् कठिन हुन्छ।
स्पेसएक्सले यो काम सफलतापूर्वक गर्न सकेमा, मस्कको नियन्त्रणमा रहेको कम्पनीसँग यस्तो उत्पादन क्षमता हुनेछ, जसका लागि अहिले अन्य सबै एआई पूर्वाधार निर्माणकर्ता केही सीमित कम्पनीमा निर्भर छन्। यसले स्पेसएक्सएआईलाई ठूलो फाइदा दिन सक्छ, जुन पर्याप्त लगानी भए पनि उत्पादन क्षमता नभएका अन्य प्रतिस्पर्धीले तत्काल नक्कल गर्न कठिन हुनेछ।
तर यसको अर्को पक्ष पनि छ। यसले ग्यास टर्बाइनलाई छिटो ठूलो संख्यामा सञ्चालनमा ल्याउन सक्छ। अहिले नै ग्यास टर्बाइनबाट हुने प्रदूषणलाई लिएर अमेरिकी संघीय अदालतमा मुद्दा र स्वास्थ्यसम्बन्धी वैज्ञानिक अध्ययन भइरहेका छन्।
मेम्फिसमा स्पेसएक्सएआईले सन् २०२४ देखि आफ्नो कोलोसस डेटा सेन्टरलाई विद्युत् उपलब्ध गराउन ग्यास टर्बाइन सञ्चालन गर्दै आएको छ। त्यहाँ एनएएसीपीले कम्पनीले संघीय कानुनअनुसार आवश्यक अनुमति र प्रदूषण नियन्त्रणका उपायबिना टर्बाइन सञ्चालन गरेको आरोप पटकपटक लगाएको छ।
एनएएसीपीका अनुसार यस्ता टर्बाइनले धुवाँ तथा वायु प्रदूषण गराउने र फर्माल्डिहाइडजस्ता हानिकारक रसायन उत्सर्जन गर्छन्। यस्ता प्रदूषकलाई दम, श्वासप्रश्वाससम्बन्धी रोग र केही प्रकारका क्यान्सरसँग जोडिएको छ।
उक्त डाटा सेन्टर पहिल्यै औद्योगिक प्रदूषणको उच्च जोखिममा रहेका बस्ती नजिकै छ। मेम्फिस विश्वविद्यालयका अनुसन्धानकर्ताले पनि आफ्नो सीमित अध्ययनमा डेटा सेन्टरका कारण वायु प्रदूषण “अलि खराब” भएको बताएका छन्।
तर मेम्फिस मात्र यस्तो समस्या देखिएको स्थान होइन। डेटा सेन्टरका लागि विद्युत् अभाव समाधान गर्न ग्यास टर्बाइन प्रयोग गरिएका अन्य स्थानमा पनि यस्तै विवाद भइरहेको छ।
भर्जिनियाको ‘डाटा सेन्टर एली’मा पिडमन्ट इन्भाइरोन्मेन्टल काउन्सिलको आग्रहमा गरिएको एउटा अध्ययनले एउटै डेटा सेन्टरमा लगातार सञ्चालन हुने आठवटा ग्यास टर्बाइनको स्वास्थ्य प्रभावबारे अध्ययन गरेको थियो। अमेरिकी वातावरण संरक्षण एजेन्सी (ईपीए) को स्वास्थ्य प्रभावसम्बन्धी ‘कोब्रा’ मोडल प्रयोग गरिएको उक्त अध्ययनले टर्बाइनबाट हुने प्रदूषणले विभिन्न काउन्टीका २५ लाखभन्दा बढी मानिसलाई असर गर्न सक्ने देखाएको छ।
अध्ययनअनुसार यसको सबैभन्दा ठूलो असर पहिल्यै सामाजिक र आर्थिक रूपमा कमजोर समुदायमा पर्न सक्छ। टर्बाइनबाट हुने प्रदूषणका कारण प्रत्येक वर्ष थप ३.४ देखि ६.५ जनाको समयअगावै मृत्यु हुन सक्ने अनुमान गरिएको छ। यसबाट स्वास्थ्यसम्बन्धी वार्षिक क्षति ५ करोड ३० लाखदेखि ९ करोड ९० लाख अमेरिकी डलरसम्म पुग्न सक्ने अध्ययनले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३, मंगलवार