काठमाडौं ।
नेपाल टेलिकमका रिटायर्ड कर्मचारी डा. विमल आचार्य तथा उनकी पत्नी भोटेकोशी बाढीपछि सम्पर्क बिहिन भएका छन्।
उनी सपत्नि टिममा चीनको मानसरोवरको यात्राका लागि रसुवाको चिनियाँ बोर्डरको चेकपोस्टमा पुगेपछि सम्पर्क बिहिन भएको बताईएको छ।
आचार्य १७ जनाको टिमका साथमा काठमाडौं होलिडेट टुर्स एण्ड ट्राभल्स प्रालिका ट्राभल गाइड सहित मानसरोवरको यात्रामा निष्किएका थिए।
बाढी आउनुअगाडि उनको अन्तिम मोबाइल लोकेसन टिमुरेको नेपाल चीन बोर्डरमा देखिएको नेपाल टेलिकम स्रोतले उल्लेख गरेको छ।
डा. आचार्य गत वर्ष कात्तिकमा ११औं तहबाट रिटायर भएका थिए। उनी तत्कालिन समयमा टेलिकमको प्रबन्ध निर्देशक पदका लागि समेत चर्चामा आएका थिए।
यसैगरी इन्टरनेट सेवा प्रदायक मर्कन्टाइल कम्युनिकेसन्सका एक प्राविधिक कर्मचारी समेत सम्पर्क बिहिन भएको स्रोतले जानकारी दिएको छ।
ती कर्मचारी आफन्त र साथीसहित गोसाईकुण्डको यात्राका लागि गएको बताईएको छ।
यस्तै, भोटेकोशीको बाढीले मर्कन्टाइलको रसुवामा रहेको केहि उपकरणहरु समेत बगाएको अनुमान गरिएको छ। कम्पनीले तत्कालिन समयमा चीनबाट इन्टरनेट ब्याण्डविथ आयात गर्नका लागि रसुवामा पप राखेको थियो र हाल प्रयोगमा नरहेका सोही उपकरणहरु अहिले बगाएको बताईएको छ।
रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित ७०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ। रसुवाको टिमुरे, स्याफ्रुबेँसी र मैलुङ इलाकाबाट आज अपराह्नसम्म ४० विदेशीसहित ७०६ जनाको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रकाशित: १२ भाद्र २०८३, शुक्रबार