एक अमेरिकी न्यायाधीशले रोके पेन्टागनको एन्थ्रोपिकमाथिको प्रतिबन्ध

  • Technology Khabar | १३ भाद्र २०८३, शनिबार
एक अमेरिकी न्यायाधीशले रोके पेन्टागनको एन्थ्रोपिकमाथिको प्रतिबन्ध

काठमाडौं ।

अमेरिकी न्यायाधीशले बिहीबार पेन्टागनले एआई कम्पनी एन्थ्रोपिकलाई कालोसूचीमा राख्ने निर्णय रोकेका छन्। यो निर्णय युद्धभूमिमा एआई सुरक्षाको विषयलाई लिएर क्लाउड एआई निर्माता एन्थ्रोपिक र अमेरिकी सेनाबीच चलिरहेको विवादमा पछिल्लो मोड हो।

क्यालिफोर्नियाको संघीय अदालतमा दायर गरेको मुद्दामा एन्थ्रोपिकले रक्षा सचिव पिट हेगसेथले आफ्नो अधिकारभन्दा बाहिर गएर एन्थ्रोपिकलाई राष्ट्रिय सुरक्षाका लागि आपूर्ति शृंखला जोखिमका रूपमा तोकेको आरोप लगाएको छ। सरकारले सैन्य प्रणालीमा विरोधी पक्षबाट घुसपैठ वा तोडफोडको सम्भावना रहेका कम्पनीलाई यस्तो जोखिमका रूपमा तोक्न सक्छ।

रोयटर्सका अनुसार हेगसेथको यसअघि नदेखिएको निर्णयले एन्थ्रोपिकलाई केही सैन्य ठेक्काबाट बाहिर राखेको थियो। अमेरिकी सेनाले आफ्नो क्लाउड एआई मोडललाई अमेरिकी निगरानी वा स्वचालित हतियारमा प्रयोग गर्न पाउनुपर्ने माग गरेपछि एन्थ्रोपिकले त्यसलाई अस्वीकार गरेको थियो।

एन्थ्रोपिकका अधिकारीहरूले पेन्टागनको निर्णयका कारण कम्पनीले व्यापार गुमाउँदा र प्रतिष्ठामा क्षति पुग्दा अर्बौं डलरको असर पर्न सक्ने बताएका थिए।

पूर्व डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त अमेरिकी जिल्ला न्यायाधीश रिटा लिनले ५९ पृष्ठको आदेशमार्फत फैसला सुनाएकी हुन्। उनले पेन्टागनको निर्णयलाई ‘गैरकानुनी र आधारहीन’ भनेकी छन्।

“राष्ट्रिय सुरक्षाको खाली आह्वान सरकारका आलोचकलाई सजाय दिन र बदला लिन प्रयोग गर्न मिल्ने खुला अधिकार होइन,” उनले आदेशमा लेखेकी छन्। एन्थ्रोपिकले फैसलाको स्वागत गर्दै आफू अमेरिकी राष्ट्रिय सुरक्षाका लागि एआईको उपयोगमा सरकारसँग सहकार्य गर्न केन्द्रित रहने बताएको छ।

पेन्टागनले यस विषयमा तत्काल प्रतिक्रिया नदिएको रोयटर्सले उल्लेख गरेको छ।

एन्थ्रोपिकले एआई मोडलहरू स्वचालित हतियारमा सुरक्षित रूपमा प्रयोग गर्न पर्याप्त भरपर्दो नभएको तर्क गर्दै आएको छ। साथै, घरेलु निगरानीले नागरिकको अधिकार उल्लंघन गर्ने भएकाले आफू त्यसको विरोधमा रहेको कम्पनीको भनाइ छ। तर पेन्टागनले निजी कम्पनीहरूले सैन्य कारबाहीलाई सीमित गर्न सक्ने अवस्था हुन नहुने बताउँदै आएको छ।

पेन्टागनले गरेको यो निर्णय विदेशी पक्षबाट सैन्य प्रणालीमा हुन सक्ने तोडफोडबाट सुरक्षा गर्ने उद्देश्यले बनाइएको सरकारी खरिदसम्बन्धी कानुनअन्तर्गत कुनै अमेरिकी कम्पनीलाई सार्वजनिक रूपमा आपूर्ति शृंखला जोखिमका रूपमा तोकिएको पहिलो घटना थियो।

मार्च ९ मा दायर गरेको मुद्दामा एन्थ्रोपिकले एआई सुरक्षासम्बन्धी आफ्नो धारणा राखेकै कारण सरकारले आफूविरुद्ध कारबाही गरेर अमेरिकी संविधानको पहिलो संशोधनले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन गरेको आरोप लगाएको थियो।

कम्पनीले आफूलाई जोखिमका रूपमा तोक्ने निर्णयविरुद्ध आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको र यसले संविधानको पाँचौं संशोधनले सुनिश्चित गरेको कानुनी प्रक्रियाको अधिकार उल्लंघन गरेको दाबी गरेको छ।

प्रकाशित: १३ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...