काठमाडौं ।
ह्वाट्सएपले ह्याकर, अनलाइन ठगी र अनधिकृत रूपमा अकाउन्ट कब्जा हुनबाट प्रयोगकर्तालाई जोगाउन नयाँ सुरक्षा अपडेट ल्याएको छ।
मुख्य परिवर्तन दुई चरणको प्रमाणीकरणसँग सम्बन्धित छ। यसअघि प्रयोगकर्तालाई ६ अंकको पिनमार्फत सुरक्षित गरिँदै आएको थियो। अब ह्वाट्सएपले थप सुरक्षित पासवर्ड प्रयोग गर्ने भएको छ। यसमा अक्षर, अंक र विशेष क्यारेक्टर प्रयोग गर्न सकिने भएकाले पासवर्ड अनुमान गर्न कठिन हुनेछ।
टेलिग्राफका अनुसार अर्को नयाँ सुविधा अपरिचित नम्बरबाट आउने कलसँग सम्बन्धित छ। प्रयोगकर्ताको कन्ट्याक्टमा नभएको व्यक्तिले फोन गर्दा ह्वाट्सएपले उक्त नम्बर अर्को देशको हो कि होइन र फोन गर्ने व्यक्तिसँग प्रयोगकर्ताको कुनै समूह साझा छ कि छैन भन्ने जानकारी देखाउनेछ।
यो सुविधाले शंकास्पद कल पहिचान गर्न र अनलाइन ठगीको जोखिम कम गर्न सहयोग गर्ने ह्वाट्सएपले जनाएको छ। हाल यो सुविधा एन्ड्रोइड डिभाइसमा मात्र उपलब्ध हुनेछ।
ह्वाट्सएपले प्रयोगकर्तालाई पासकी प्रयोग गर्न पनि प्रोत्साहित गरिरहेको छ। पासकीमार्फत फिङ्गरप्रिन्ट, फेसियल रिकग्निसन वा फोनको स्क्रिन कोड प्रयोग गरेर अकाउन्टमा लगइन गर्न सकिन्छ।
ह्वाट्सएपका अनुसार १ अर्बभन्दा बढी प्रयोगकर्ताले यसअघि नै पासकी सेटअप गरिसकेका छन्। अब एउटै अकाउन्टमा एकभन्दा बढी पासकी दर्ता गर्न पनि सकिने भएको छ।
यो अपडेट एकभन्दा बढी डिभाइस प्रयोग गर्नेहरूका लागि विशेष रूपमा उपयोगी हुनेछ। उदाहरणका लागि, एन्ड्रोइड फोन र आईफोन दुवै प्रयोग गर्नेहरूले एउटै अकाउन्टमा धेरै पासकी राख्न सक्नेछन्।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार