काठमाडौं ।
फिनल्यान्डको दूरसञ्चार कम्पनी एलिसा र उपकरण निर्माता नोकियाले गैरनाफामूलक संस्था फाउन्डेसन पीएससँग मिलेर फिनल्यान्डका बालबालिकालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे बुझाउन परियोजना सुरु गर्ने भएका छन्।
एआईका कारण समाजमा विभिन्न परिवर्तन भइरहे पनि शिक्षासँगै एआईसम्बन्धी सीप विकास गर्न प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिने अवसर सीमित रहेको भन्दै यो परियोजना सुरु गर्न लागिएको हो।
कार्यक्रममार्फत विद्यार्थीलाई एआईले के गर्न सक्छ र यसका सीमितता के हुन् भन्नेबारे जानकारी दिइनेछ। यसका लागि ‘बेला’ नामको एआई सिकाइ रोबोट प्रयोग गरिनेछ। यसले रोबोटिक्स, डिजिटल उपकरण र शिक्षकको नेतृत्वमा हुने गतिविधिलाई संयोजन गर्नेछ। यसबाट फिनल्यान्डको शिक्षा निर्देशिकाअनुसार सुरक्षित, निर्देशित र शैक्षिक रूपमा उपयुक्त तरिकाले एआई प्रयोग गर्न सिकाइने कम्पनीहरूले बताएका छन्।
यो कार्यक्रम फिनल्यान्डको राष्ट्रिय शैक्षिक लक्ष्य तथा फिनिस नेसनल एजेन्सी फर एजुकेसन (ओपीएच) र शिक्षा तथा संस्कृति मन्त्रालय (ओकेएम) को निर्देशनअनुसार तयार गरिएको हो।
‘बेला’ रोबोट सुरुवातमा नोकियाको बेल ल्याब्समा विकास गरिएको थियो। अहिले भने यसलाई फिनल्यान्डको कम्पनी इचिजेरोले निर्माण गर्दै आएको छ। यसमा ब्राउजरमार्फत चल्ने एप र पहिले नै तयार गरिएका पाठ्यसामग्री छन्। यसको प्रयोग गरी शिक्षकहरूले विद्यार्थीलाई एआईले कसरी सिक्छ, गल्ती गर्छ र सुधार गर्छ भन्ने देखाउन सक्नेछन्।
पहिलो वर्षमा कार्यक्रमले करिब १९ हजार कक्षा ६ का विद्यार्थीलाई समेट्ने लक्ष्य राखेको छ। साथै, यसलाई फिनल्यान्डभरि र अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सकिने मोडेलका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
नोकियाका प्रमुख कानुनी तथा प्रशासनिक अधिकारी एसा निनिमाकीले प्रविधि, शिक्षा र अनुसन्धानबीचको सहकार्य एआईलाई सुरक्षित रूपमा समाजको हितमा प्रयोग गर्न आवश्यक रहेको बताए। उनका अनुसार यस कार्यक्रमले विद्यालयमा एआईलाई व्यवस्थित र जिम्मेवार तरिकाले कसरी प्रयोग गर्न सकिन्छ भन्ने देखाउनेछ।
एलिसाकी कार्यकारी उपाध्यक्ष तथा कर्पोरेट चिफ अफ स्टाफ काटी न्यमानले बालबालिका र युवाको डिजिटल सीप एक दशकभन्दा बढी समयदेखि एलिसाको दिगोपनासम्बन्धी कामको मुख्य विषय रहेको बताइन्। उनका अनुसार एआई तीव्र रूपमा नयाँ आधारभूत सीप बन्दै गएको छ र यसले शिक्षा, रोजगारी तथा समग्र समाजमा प्रभाव पारिरहेको छ।
सहकार्यबाट विद्यालयमा बालबालिका तथा युवालाई एआईका अवसर सुरक्षित र जिम्मेवार रूपमा प्रयोग गर्न सहयोग गर्ने व्यावहारिक उपकरण उपलब्ध गराउन खोजिएको उनले बताइन्।
प्रकाशित: १५ भाद्र २०८३, सोमबार