संवेदनशील सूचना, तस्वीर र भिडियो नफैलाउन सूचना तथा सञ्चार मन्त्रालयको अपिल

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
संवेदनशील सूचना, तस्वीर र भिडियो नफैलाउन सूचना तथा सञ्चार मन्त्रालयको अपिल
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै आएको विनाशकारी प्राकृतिक विपद्का क्रममा संवेदनशील सूचना, तस्वीर तथा भिडियो सामग्री जिम्मेवारीपूर्वक मात्र प्रकाशन तथा प्रसारण गर्न सञ्चारमाध्यम र आमनागरिकलाई अपिल गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विपद्का समयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा पर्ने प्रभावलाई ध्यानमा राख्दै मानवीय संवेदनशीलता कायम गर्न आग्रह गरेको हो।

मन्त्रालयले विपद्बाट भएको क्षति, उद्धार तथा राहतसम्बन्धी समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार लिन आग्रह गरेको छ।

त्यस्तै, कपोलकल्पित वा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट सिर्जित भ्रामक तथा सर्वसाधारणमा त्रास फैलाउने खालका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले अनुरोध गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जालमा हृदयविदारक घटनाका तस्वीर, भिडियो वा विवरण पोस्ट तथा रिपोर्ट नगर्न र पीडित तथा पीडित परिवारप्रति पूर्ण मानवीय संवेदनशीलता दर्शाउन पनि आग्रह गरेको छ।

विपद्का समयमा भयावह तथा विचलित बनाउने खालका सामग्री प्रकाशन, प्रसारण, अपलोड, सेयर, पोस्ट वा रिपोर्ट नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना सम्प्रेषणमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन मन्त्रालयले सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

मन्त्रालयले केही सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा मानव र समाजलाई नै विचलित पार्ने किसिमका तस्वीर तथा भिडियो प्रकाशन तथा प्रसारण भइरहेको भन्दै यस्तो सामग्रीले विपद्को समयमा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारलाई थप पीडा पुग्न सक्ने जनाएको छ।

विपद्को समयमा थप क्षति तथा पीडा नहोस् भन्नका लागि सम्पूर्ण राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र मानवीय संवेदनशीलताका साथ सूचना सम्प्रेषण गर्न मन्त्रालयले विशेष अपिल गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...