बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

  • Technology Khabar | ११ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं ।

बीवाईडीले साइमेक्स इंकसँगको सहकार्यमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ।

बाढी प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बीवाईडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेका हुन्।

कम्पनीका अनुसार सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिनेछ।

यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ।

सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बीवाईडी गहिरो दुःखी रहेको बताए।

उनले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बीवाईडीको ध्यान र सहानुभूति रहेको उल्लेख गरेका छन्।

लिउले बीवाईडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको यो सहयोगले सरकारका राहत तथा पुनर्स्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

उनले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताएका छन्। नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उनले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गरे।

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक। प्रालि।ले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बीवाईडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग र दिगो यातायाततर्फको संक्रमणलाई तीव्रता दिने साझेदारीसँगै, विपद्को यस कठिन समयमा देश र जनतासँग उभिने साझा प्रतिबद्धताका रूपमा समेत यो सहयोगलाई लिइएको छ।

यस पहलले विपद्पछिको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा सामूहिक प्रयासको महत्वलाई थप उजागर गरेको छ। बीवाईडी र साइमेक्सले विपद्बाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम सफलतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: ११ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार