काठमाडौं ।
ओखलढुङ्गा जिल्लावासीलाई स्थानीय सरकार र सरकारी सेवासम्म सहज पहुँच पुर्याउने उद्देश्यले एक निःशुल्क डिजिटल ‘प्लेटफर्म’ सञ्चालनमा ल्याइएको छ।
‘ओखलढुङ्गा कनेक्ट’ नामक सो डिजिटल प्लेटफर्म हालै सञ्चालनमा ल्याइएको हो। ओखलढुङ्गाकै स्थानीयवासी तथा सूचना प्रविधि (आइटी) उद्यमी जीवन श्रेष्ठले उक्त प्लेटफर्म यसै सातादेखि सञ्चालनमा आएको जानकारी दिए। यसले जिल्लाका नागरिक र स्थानीय सरकारबीच डिजिटल पुलको भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
नेपाली र अङ्ग्रेजी दुवै भाषामा चलाउन सकिने यो ‘वेब एप’मार्फत जिल्लाका सबै स्थानीय तहका सेवा तथा सूचनाबारे घरमै बसेर जानकारी लिन सकिने जनाइएको छ । यसका प्रमुख विशेषताका रुपमा सरकारी कार्यालयले दिने सेवाबारे जानकारी लिन ‘सेवा गाइड’, सरकारी कार्यालय र सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने ‘डाइरेक्टरी’लगायत छन् ।
‘ओखल साथी’ नामक च्याटबोटबाट जिल्लाका बारेमा सोधिने प्रश्नका जवाफ प्राप्त गरिने, आपतकालीन सूचना प्रणाली, यातायात, बजार र व्यवसायबारे जानकारी दिइने यस प्लेटफर्म निर्माता श्रेष्ठले बताए।
विशुद्ध नागरिक हितका लागि विकास गरिएको यो प्लेटफर्म ग्रामीण नेपालको हकमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।
“यो एप सञ्चालन गर्न व्यक्तिको नाम र फोन नम्बर मात्र दर्ता गर्नुपर्ने हुँदा व्यक्तिगत अन्य तथ्याङ्क सुरक्षाका सन्दर्भमा पनि धेरै समस्या छैन”, श्रेष्ठले भने, “जे जति अन्य तथ्याङ्कहरू यहाँ समावेश हुन्छन् त्यो प्राय सबै सार्वजनिक प्रकृतिकै हुन्छन्।”
यसले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई पनि साथ दिने आइटी उद्यमी श्रेष्ठको भनाइ छ। रासस
प्रकाशित: १० भाद्र २०८३, बुधबार