काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ‘सेतु र्यापिड’ पोर्टल सञ्चालनमा ल्याएको छ।
बुधबार बिहान तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएपछि रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण जनधनसँगै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ।
यही परिस्थितिमा उद्धार तथा राहत आवश्यक पर्ने व्यक्ति वा परिवारले आफ्नो आवश्यकता सम्बन्धित निकायसम्म पुर्याउन ‘सेतु र्यापिड’ प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ। पोर्टलमा ‘Need Rescue’ र ‘Need Relief Items’ विकल्प राखिएका छन्। उद्धार आवश्यक भए ‘Need Rescue’ तथा खाद्यान्नलगायत राहत सामग्री आवश्यक भए ‘Need Relief Items’ मा गएर विवरण उपलब्ध गराउन सकिनेछ।
सेतु र्यापिड सडक विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का लागि तयार गरिएको डिजिटल विपद् प्रतिक्रिया प्रणाली हो। यसको उद्देश्य उद्धारकर्मी, कमान्ड केन्द्र र फिल्डमा परिचालित सवारी तथा उपकरण सञ्चालकलाई एउटै लाइभ नक्सामार्फत जोडेर आवश्यक स्थानमा सहायता छिटो पुर्याउनु हो।
पोर्टल अस्त्र ल्याब्स प्रालि र नाक्सा प्रालिले विकास गरेका हुन्। आधिकारिक पोर्टलमा सडक विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र एनडीआरआरएमएको संलग्नता देखाइएको छ।
सेतु र्यापिडमा विपद् तथा सडकसम्बन्धी घटनाको विवरण, स्थान, अवस्था र परिचालित उद्धारकर्ताको जानकारीलाई साझा नक्सामा व्यवस्थापन गर्न सकिन्छ। यसको मोबाइल एप भने सडक विभाग, एनडीआरआरएमए तथा सम्बन्धित अधिकृत फिल्ड कर्मचारीका लागि घटनाको रिपोर्टिङ र उद्धार समन्वय गर्न प्रयोग हुने आन्तरिक प्रणालीका रूपमा विकास गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटमा पनि ‘SETU Rapid’ लाई आधिकारिक पोर्टलका रूपमा समावेश गरिएको छ।
बाढीको जोखिम अझै पूर्ण रूपमा टरेको छैन। ल्हेन्दे खोलामा बनेको ताल पूर्ण रूपमा खाली नभएकाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा थप बाढीको जोखिम कायमै रहेको अधिकारीहरूले बताएका छन्। नदी किनारमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
प्रकाशित: १० भाद्र २०८३, बुधबार