काठमाडौं ।
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवासहित ३ जिल्लामा मुख्य प्रभाव पारेसँगै टेलिफोन तथा मोबाइल सेवामा पनि समस्या आएको देखिएको छ।
मोबाइल सेवा संचालन गर्ने दुई टेलिकम अपरेटरहरुले रसुवा, नुवाकोट र धादिङ्ग जिल्लामा बाढीले आफ्ना केहि टावरहरुमा समस्या पुर्याएको र त्यसलाई मर्मत संभार गर्ने प्रयास गरिरहेको जनाएका छन्।
उनीहरुकाअनुसार सो क्षेत्रमा रहेका करिब ८० भन्दा धेरै साइटहरु डाउन भएका छन्।
नेपाल टेलिकमले तीन जिल्ला मध्ये रसुवामा रहेका १९ साइटहरुनै डाउन भएको बताएको छ। यस्तै नुवाकोटमा रहेका मध्ये ५० प्रतिशत भन्दा धेरै साइट डाउन छन भने धादिङ्गमा एक दर्जनभन्दा बढी साइटहरु डाउन भएका कम्पनीका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिए।
उनकाअनुसार अधिकांश साइटहरु विद्युत आपूर्ति नहुँदा बन्द भएका छन र ती साइटहरु खुलाउने प्रयास भईरहेको छ।
त्यस्तै, गल्छीदेखि रसुवा बोर्डरसम्म रहेको फाइबर लिंकमा समेत क्षति पुगेको केहि समयअघि कम्पनीले जानकारी दिएको थियो।
“आज यहाँ (काठमाडौं) बाट प्राविधिकहरुको टोली जाने प्रयास गरेको थियो तर मौसमको खराबीका कारण जान सकेन्, प्रवक्ता लामिछानेले भने, भोली बिहानै जाने र २ ओटा रिपिटर टावर अन गर्ने योजना लिईएको छ।”
यसैगरी नीजि क्षेत्रको मोबाइल अपरेटर एनसेलले पनि ती क्षेत्रमा रहेका २७ टावरहरु डाउन भएको जानकारी दिएको छ।
“हाम्रा कयौं केबलहरु छिन्नभिन्न भएका छन् र पूर्वाधारमा कति क्षति भयो भनेर हेर्दैछौं,” एनसेलले भनेको छ।
सेवाको निरन्तरताका लागि प्राविधिकहरु खटिएका कम्पनीले जानकारी दिएको छ। सरकारले सो क्षेत्रमा जान खुला गरेसँगै प्राविधिकहरु जान तयार रहेको एनसेलले उल्लेख गरेको छ।
दुबै कम्पनीहरुले साइट र संरचनाहरुमा क्षति पुग्नुका साथै विद्युत आपूर्ति नहुँदा साइटहरु संचालनमा समस्या देखिएको बताएका छन्।
दुबै सेवा प्रदायकहरुले ब्याट्री ब्याकअपले नधानेको र विद्युत सेवाको निरन्तरता नहुँदा साइटहरु डाउन हुन पुगेको स्पष्ट पारेका छन्। उनीहरुले कयौं स्थानमा फाइबर काटिँदा समेत सेवा प्रभावित भएको बताए।
यसअघि नेपाल टेलिकम र एनसेल दुबैले बाढी प्रभावित ती क्षेत्रहरुमा आफ्ना सेवाहरु निशुल्क प्रदान गर्ने घोषणा गरिसकेका छन्। उनीहरुले निरन्तर अलर्ट रिङ्गब्याक टोन बजाउने, भ्वाइस र डाटा सेवाका साथै एसएमएस सेवा निशुल्क प्रदान गरिरहेको उल्लेख गरेका छन्।
प्रकाशित: १० भाद्र २०८३, बुधबार