काठमाडौं ।
नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई एक मिनेटसम्मको रेकर्डेड व्यावसायिक तथा सूचनामूलक आवाज सन्देश पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालनमा ल्याएको छ।
टेलिकमका अनुसार यो सेवा संस्थागत तथा व्यक्तिगत ग्राहकका लागि उपयोगी हुनेछ। कुनै सूचना, परीक्षाको नतिजा, प्रवर्द्धनात्मक सामग्रीलगायतका सन्देश धेरै व्यक्तिसम्म एकैपटक पुर्याउन यस सेवाको प्रयोग गर्न सकिनेछ।
यस सेवामार्फत कल प्राप्त गर्ने व्यक्तिको मोबाइलमा आउने कलको कलर आईडी सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बरकै रूपमा देखिनेछ।
सेवाको सञ्चालनका लागि इच्छुक सेवा प्रदायक वा ग्राहकले सम्बन्धित दूरसञ्चार कार्यालयमार्फत निर्धारित फाराम भरी सेवा लिन सक्ने नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले यस सेवाको परीक्षण केही समयदेखि आन्तरिक प्रयोजनका लागि गर्दै आएको थियो। परीक्षणपछि कम्पनीले यसलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो।
कम्पनीका अनुसार सेवा प्रदायक वा ग्राहकले तोकेका नम्बरमा स्वचालित रूपमा कल गर्न सकिने भएकाले संस्थागत सूचना प्रवाहमा समेत यसको उपयोग बढ्ने अपेक्षा गरिएको छ।
आउटबाउन्ड आईभीआर सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: ९ भाद्र २०८३, मंगलवार