वर्डक्याम्प काठमाडौं २०२६ ले नेपाली प्राविधिक प्रतिभालाई विश्वव्यापी एआई बजारसँग जोड्ने तयारी

  • Technology Khabar | ७ भाद्र २०८३, आईतवार
वर्डक्याम्प काठमाडौं २०२६ ले नेपाली प्राविधिक प्रतिभालाई विश्वव्यापी एआई बजारसँग जोड्ने तयारी

काठमाडौं ।

वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको छ।

वर्डप्रेस काठमाडौंको आयोजनामा हुन लागेको दुईदिने प्रविधि सम्मेलनमा देशभरका सफ्टवेयर इन्जिनियर, वेब विकासकर्ता, विद्यार्थी, फ्रिलान्सर तथा प्रविधि उद्यमीहरूको उपस्थिति रहने भएकाे छ।

सम्मेलनको पहिलो दिन ‘कन्ट्रीब्युटर डे’ रहनेछ। यसमा सहभागी तथा विकासकर्ताहरूले वर्डप्रेस सफ्टवेयरको मुख्य कोडिङ, नेपाली भाषा अनुवाद, दस्ताबेजीकरण, थिम तथा प्लगइन परीक्षणमा प्रत्यक्ष रूपमा काम गर्ने अवसर पाउनेछन्। साथै, अनुभवी प्रशिक्षकहरूबाट प्रत्यक्षरूपमा वर्डप्रेसको तालिम समेत दिइने भएकोले सहभागीहरुले प्राविधिक सिप निखार्नुको साथै अन्तर्राष्ट्रिय स्तरको अनुभव र व्यक्तिगत प्रोफाइललाई निकै बलियो बनाउन सक्नेछन्।

सम्मेलनको दोस्रो दिन आधुनिक प्रविधि, निःशुल्क र खुल्ला स्रोत प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), र सुरक्षित वेब विकासमा केन्द्रित प्राविधिक तथा व्यावसायिक सत्रहरू सञ्चालन हुनेछन्। विशेषगरी एआईको सहयोगमा छिटो र प्रभावकारी सफ्टवेयर विकास गर्ने कार्यप्रणाली, युआई–युएक्स, स्मार्ट प्रम्प्ट लेखन, सुरक्षित कोडिङ, क्लाउड प्रणाली र डिजिटल भुक्तानीका विविध पक्षहरूबारे विशेषज्ञ र अनुभवी वक्ताहरुद्वारा तालिमहरू सञ्चालन हुनेछ।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, र फिलिपिन्स लगायतका मुलुकबाट आएका ख्यातिप्राप्त प्राविधिक विज्ञ, उत्पादन व्यवस्थापक र समुदायका अगुवाहरूले आफ्नो प्रस्तुति दिनेछन्। साथै नेपालमै बसेर विदेशी ग्राहकहरूसँग कसरी काम गर्ने आफ्ना डिजिटल उत्पादनहरूलाई विश्व बजारमा बिक्री गरेर मुद्रा आर्जन गर्ने व्यवहारिक र रणनीतिक पाटोहरूको बारेमा पनि छलफल हुनेछ।

कार्यक्रमले सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थी तथा नयाँ प्रतिभाहरूका लागि रोजगारी, इन्टर्नसिप र मेन्टरसिपको उत्कृष्ट ढोका खोल्नेछ। सहभागीहरूले दिनभर विभिन्न कम्पनीका नेतृत्वहरूसँग सम्बन्ध विस्तार गर्ने, आफ्ना समस्या र नयाँ सोचहरूमा छलफल गर्ने, आधिकारिक उपहारहरू प्राप्त गर्ने तथा सम्मेलनपछि आयोजना हुने अनौपचारिक कार्यक्रममा सहभागी भई प्रविधि समुदायसँग आत्मीय सम्बन्ध बनाउने मौका पाउनेछन्।

सहभागीहरूले यी विश्वस्तरीय प्रविधि कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, नेटवर्किङ, आफ्ना नवीन प्राविधिक अवधारणाहरूको प्रस्तुति तथा रोजगारी र व्यावसायिक सहकार्यका नयाँ अवसरहरू पहिल्याउन सक्ने आयोजकको भनाइ छ।

प्रकाशित: ७ भाद्र २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार