काठमाडौं ।
भारतले गुगलको वेब डेभलपमेन्ट प्लेटफर्म फायरबेसमा रहेका सयौँ अकाउन्ट बन्द गर्न निर्देशन दिएको छ।
अपराधीहरूले फायरबेसको दुरुपयोग गर्दै ठूला बैंकको नक्कल गरी मानिसलाई ठगी गरिरहेको ढाँचा फेला परेपछि यस्तो निर्देशन दिइएको सरकारी सूचनाहरू र यस विषयमा जानकार एक स्रोतले बताएका छन्।
अनलाइन ठगी भारतका लागि कानुन कार्यान्वयनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक बनेको छ। सरकारी तथ्यांकअनुसार सन् २०२५ मा भारतीयले साइबर ठगीमा करिब २ अर्ब ४० करोड डलर गुमाएका थिए। सरकारले वर्षौँदेखि ठगी गर्ने वेबसाइट हटाउन आदेश दिँदै आएको छ।
रोयटर्सका अनुसार तर पछिल्लो समय ठगी गर्नेहरूले विश्वभर लाखौँ प्रयोगकर्ता रहेको गुगलको एप र वेबसाइट विकास उपकरण फायरबेस प्रयोग गरिरहेको एउटा “ढाँचा” भारतीय अधिकारीले फेला पारेका छन्। यस विषयमा प्रत्यक्ष जानकारी भएका स्रोतले यस्तो बताएका हुन्।
भारतीय साइबर अपराध समन्वय केन्द्र (आई४सी) ले अगस्टमा मात्रै फायरबेसमा होस्ट गरिएका कम्तीमा ५७ वटा वेबसाइट र डाटाबेस हटाउन निर्देशन दिएको छ।
ती वेबसाइट र डाटाबेस पीडितको फोनमा मालवेयर फैलाउन र संवेदनशील वित्तीय जानकारी चोरी गर्न प्रयोग भइरहेको भन्दै आई४सीले यस्तो निर्देशन दिएको हो। रोयटर्सले गुगललाई पठाइएका र समीक्षा गरिएका तीनवटा सूचनाबाट यो जानकारी पाएको हो।
ती सूचनामा गुगल वा फायरबेस कुनै पनि रूपमा यसको जिम्मेवार रहेको उल्लेख छैन। तर सूचना जारी भएको तीन घण्टाभित्र उल्लेखित लिंक नहटाए गुगललाई ती लिंकका लागि जिम्मेवार ठहराउन सकिने व्यवस्था छ।
आई४सीले अगस्ट १७ मा गुगललाई पठाएको सूचनामा भनेको छ, “एन्ड्रोइडमा आधारित मालवेयर कार्यक्रमले वैध बैंकिङ सेवाको नक्कल गरिरहेका छन् र विशेषगरी क्रेडिट कार्ड भएका एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरिरहेका छन्। ठगी गर्नेहरूले नयाँ क्रेडिट कार्ड, रिवार्ड प्राप्त गर्ने वा क्रेडिट सीमा बढाउनेजस्ता प्रस्ताव देखाएर पीडितलाई आकर्षित गर्छन्।”
स्रोतका अनुसार पछिल्ला केही महिनामा फायरबेससँग सम्बन्धित दर्जनौँ सूचना गुगललाई पठाइएको छ। तर उनले यसको ठ्याक्कै संख्या भने खुलाएनन्।
अल्फाबेटको स्वामित्वमा रहेको गुगलले आफ्नो प्रतिक्रियामा कम्पनीका सेवाहरू फिसिङ, मालवेयर वा वित्तीय ठगीका लागि प्रयोग गर्न नपाइने कडा नीति रहेको जनाएको छ। कम्पनीले आई४सीसहित कानुन कार्यान्वयन गर्ने निकायसँग सहकार्य गर्दै प्राप्त सूचनाको मूल्यांकन र आवश्यक कारबाही गर्ने पनि बताएको छ।
भारतको गृह मन्त्रालय, जसअन्तर्गत आई४सी पर्छ, का प्रतिनिधिले यसबारे सोधिएको प्रश्नको जवाफ दिएनन्।
तीव्र रूपमा बढ्दो डिजिटल प्रयोग
फायरबेस विश्वभरका लाखौँ डेभलपरले एप बनाउन र वेबसाइट होस्ट गर्न प्रयोग गर्छन्। यो गुगलको क्लाउड व्यवसायको हिस्सा हो। गुगलको क्लाउड व्यवसायले पछिल्लो त्रैमासिकमा करिब २५ अर्ब डलर आम्दानी गरेको थियो।
स्रोतका अनुसार ठगी गर्नेहरूले गत वर्षदेखि अन्य निःशुल्क उपकरणको सट्टा फायरबेस प्रयोग गर्न थालेका छन्। यसको कारण फायरबेसमा उपलब्ध उदार निःशुल्क विकल्प र अझ सक्षम डाटाबेस सुविधा रहेको भारतीय सरकारले मूल्यांकन गरेको छ।
ठगी गर्नेहरूले भारतको तीव्र रूपमा बढिरहेको डिजिटल भुक्तानी प्रणालीलाई पनि बढ्दो रूपमा लक्षित गरिरहेका छन्। सन् २०२६ को मार्चसम्मको एक वर्षमा भारतको रियल–टाइम भुक्तानी प्रणालीबाट मात्रै करिब २४२ अर्ब डिजिटल कारोबार भएका थिए। यसले भारतलाई विश्वकै सबैभन्दा ठूलो डिजिटल भुक्तानी बजारमध्ये एक बनाएको छ।
रोयटर्सले अगस्टमा आई४सीले गुगललाई पठाएका तीनवटा सरकारी सूचना समीक्षा गरेको थियो। यी सूचनाहरू लुमेनमार्फत प्राप्त भएका थिए। लुमेन गैरनाफामूलक संस्था हो, जहाँ गुगलजस्ता कम्पनीले आफूलाई प्राप्त भएका सामग्री हटाउने अनुरोध स्वेच्छिक रूपमा पठाउने गर्छन्।
प्रकाशित: ७ भाद्र २०८३, आईतवार