काठमाडौं ।
टेस्लाले चीनमा रहेका लाखौँ गाडीका लागि सफ्टवेयर सुधार जारी गर्ने भएको छ। चीनको बजार नियामकले सोमबार यस्तो जानकारी दिएको हो। यो चीनमा टेस्लाले गरेको अहिलेसम्मकै ठूलो रिकलब हो।
सेप्टेम्बर २५ देखि टेस्लाले चीनमा बनेका तथा आयात गरिएका मोडल ३, मोडल वाई, मोडल एस र मोडल एक्स गरी २९ लाख ८० हजार गाडी फिर्ता बोलाउने भएको छ। आपत्कालीन अवस्थामा ढोका खोल्न प्रयोग हुने ह्यान्डल पहिचान गर्न कठिन हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो।
रोयटर्सका अनुसार गम्भीर दुर्घटना र विद्युतीय प्रणालीमा समस्या आएमा यसले यात्रु बाहिर निस्कन वा उद्धार गर्न कठिनाइ हुन सक्छ। यसको समाधानका लागि चेतावनी लेबल राखिनेछ र ओभर-द-एयर (ओटीए) अपडेटमार्फत दुर्घटनापछि गाडीका झ्यालहरू तल झर्ने व्यवस्था गरिनेछ।
यसैगरी, टेस्लाले चीनमा बनेका २७ लाख ४० हजार मोडल ३ र मोडल वाई गाडी तत्काल फिर्ता बोलाउने भएको छ। यी गाडीमा ओटीए सफ्टवेयर अपडेट गरिनेछ।
चालकले सहायक स्टेयरिङ र अन्य ड्राइभर-असिस्टेन्स सुविधा प्रयोग गरिरहेको अवस्थामा चालकको ध्यान अनुगमन प्रणाली सुधार गर्नु यसको उद्देश्य हो। चालकले समयमै प्रतिक्रिया नदिँदा हुने दुर्घटनाको जोखिम कम गर्न यो अपडेट गरिनेछ।
प्रकाशित: ६ भाद्र २०८३, शनिबार